न्यु साउथ वेल्स राज्यको वर्षा कम हुँदै गएता पनि जोखिम क्षेत्रमा रहेका करिब १५ हजार मानिस कुनै पनि बेला सुरक्षित स्थानमा सर्नका लागि तैयारी अवस्थामा रहेका छन् ।
बाढीको बहावमा कमी आउन अझै केही दिन लाग्ने भएपछि राज्यका करिब १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
गत हप्ता देखिको लगातारको वर्षाले बिशेष गरि तटीय क्षेत्रमा धेरै घरहरु डुबानमा परेका छन् ।
राज्यकी प्रिमीयर ग्लेडीज बेरीजिक्लीयनले “भयानक” मौसमी अवस्थाले राज्यका कैयन क्षेत्रमा गम्भीर असर परेको बताइन् ।
“यो हामीले बुझ्न सक्ने भन्दा बाहिरको मौसमी घटना हो ।” मङलबार संसद्मा बेरीजीक्लीयनले भनिन् ।
प्रिमीयरले जोन बारीलोरोलाई ब्ल्याक समर डढेलोमा झैँ यस पटक पनि राज्यको पहिलेकै अवस्थामा फर्काउन यसको कुशल नेतृत्व गर्न पनि आग्रह गरिन् ।
नदीहरूमा पानीको बहाव बढे पछि उत्तर पश्चिमी क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थान तर्फ सर्नका लागि आदेश दिइएको छ ।
यता कोलो नदीमा बाढीको बहाव उच्च देखिएको छ ।
मङलबार उक्त क्षेत्रका करिब दुई सय घरका पाँच सय बासिन्दालाई सुरक्षित स्थानमा सर्नका लागि अनुरोध गरिएको छ ।
राज्यको आपतकालिन सेवा विभागले हेलिकप्टर र पानी जहाजको मद्दतले मानिसहरूलाई त्यहाँबाट सर्नका लागि मद्दत गरेका छन् ।
उद्धार गर्न पुगेको ढुङा पल्टिएपछि एक परिवारको सहयोगका लागि पुन त्यहाँ उद्धारकर्मी पुग्नुपरेको थियो ।
स्टोनीक्वरी क्रिकमा पानीको बहाव बढ्दा होक्सबेरी नदी देखि विन्जर र वाईजम्यानफेरी सम्मका मानिसलाई तैयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
गत बिहीबार देखि राज्य भरका करिब १० हजार मानिसले सहयोगका लागि अपिल गरेको बताइएको छ ।
यता नदर्न टेरीटरीबाट आउने भित्री मौसमी प्रणालीका कारण ग्राफटन र लिसमोर जस्ता ग्रामीण क्षेत्रमा पनि असर परेको बताइएको छ ।
राज्यको मध्य उत्तरी तट केम्पसेमा पनि चेतावनी जारी गरिएको छ ।
ग्लेनरेगको ओरारा नदीमा पनि ठुलो बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ ।
SES flood rescue team members inspect floodwaters flowing over the New Windsor Bridge at Windsor in north western Sydney on 23 March, 2021 Source: AAP
यता पेनरीथमा रहेको नेपियन नदीमा आउने पानीको बहावले माथिल्लो नेपियन क्षेत्र प्रभावित हुने चेतावनी दिइएको छ ।
तटीय क्षेत्रमा पानी पर्न कम भए पनि राज्यको भित्री क्षेत्रमा भने अवस्था गम्भीर रहने मौसम विभागको भनाई रहेको छ ।
अस्ट्रेलियन सेनाको विमान उद्धारका लागि उपलब्ध गराइएको छ ।
सङ्घीय सरकारले बाढी प्रभावितहरूका लागि ५७ लाख अस्ट्रेलियन डलर सहयोग वितरण गरिसकिएको बताएको छ ।
“हामी समुदायलाई सकेसम्म चाँडो उनीहरूको खुट्टामा उभ्याउन छिटो र प्रभावकारी ढङले काम गर्ने छौ ।” मोरीसनले भने ।
भारी वर्षा र बाढीको जोखिमका कारण राज्यका करीव २ सय ८० विद्यालयहरू बन्द गरिएका छन् ।
गम्भीर मौसमी अवस्था बारे जान्न सार्वजनिक सूचना र सोधपुछ केन्द्रलाई दिनको कुनै पनि समय १८०० २२७ २२८ मा फोन गर्नुहोस्। बाढीका कारण तत्काल सहयोगको खाँचो परे स्टेट इमर्जेन्सी सर्भिस - एसइएसलाई १३२ ५०० मा सम्पर्क गर्नुहोस्।
के तपाईँ पनि यस प्राकृतिक प्रकोपबाट प्रभावित हुनुभएको छ? आफ्नो अनुभव बाँड्न मन भए !