सनातन धर्म मान्ने पहाडिया खसहरूले बिहान सबेरै ताल-तलैया एवं नदीमा पसेर स्नान गरी ब्राह्मणलाई दान-दक्षिणा दिएर आजको दिन सुरु गर्छन् भने नेवार समुदायका मानिसहरू चाकु तथा तिल मिसाएर लड्डु लगायतका परिकार बनाएर दान गर्ने तथा एक-आपसमा बाँडेर खाने गर्दछन्।
त्यस्तै मगर समुदायका मानिसहरू पनि उसिनेको तरुलको परिकार खाँदै, धनुष बाणले तारो हाल्दै मकर सङ्क्रान्ति मनाउने गर्दछन् भने आज किराँत सम्बतको पहिलो दिन समेत हो।
यसै गरी, थारु समुदायमा माघी भनेर यो चाडको विशेष महत्त्व रहेको छ। हिजो पुस महिनाको मसान्तका रात सुँगुर काटी, जिता मरना भन्दै सामुदायिक रूपमा धमार गीत गाउँदै, सखिया नाचको रमाइलोमा जागाराम बस्दै मनाउने चलन उनीहरूको छ।
आजै कै दिन भारतका विभिन्न स्थानहरूमा पनि विशेष मेला लाग्ने गर्दछ जसमध्ये यो वर्षको कुम्भ मेला इलाहाबाद भनेर पनि चिनिने प्रयागराजमा लागिरहेको छ।
तर हामी सबैले खाने चाकु चाहिँ कसरी बन्छ त?
चाकु बनाउन साधरणतया, सख्खरमात्रलाई उमाली, सेलाएपछि काठको खम्बामा अड्याई त्यसका रेसाहरू तनक्याउन्दै घुमाउँदै तयार पारिन्छ। अनि विभिन्न तौल तथा आकृतिमा यसलाई बेच्नका निम्ति पोको पारिन्छ।
तर, मसला चाकु भनेर चिनिने अलि महँगो चाकुको हकमा भने पहिले सक्खरलाई अन्य खाद्य सामाग्री जस्तै खुवा, नरिवल, दाख आदिसँग मिलाएर घोलिछ।
उत्तरी काठमान्डू स्थित टोखामा रहेको एक चाकु बनाउने कारखाना सञ्चालन गर्दै आएका हंसराज श्रेष्ठले ईसीएस नेपाललाई चाकु बनाउने प्रक्रिया निकै गाह्रो रहेको प्रतिक्रिया दिँदै भने, यदि तापक्रम मिलाउन जानिएन भने चाकु तितो तथा बेस्वादको हुन्छ।"
आफ्नो पुर्खाहरूको पालादेखि यही सिक्दै आएको बताउँदै उनले अगाडी भने, "यो गुलियो तथा मुखमा हाल्नासाथ पग्लिने खालको हुनुपर्दछ।"
सिड्नीबाट एक नेपाली अनलाइन पसल सञ्चालन गर्दै आएका श्याम केसीका अनुसार चाकु सबै अस्ट्रेलियनहरुले चाख्नै पर्ने मिष्ठान हो।
"वर्षैभरि चाकुको स्टक हामीसँग रहन्छ तर माघे सङ्क्रान्तिको बखत त यसको माग अत्यधिक नै हुन्छ, उनले लाई भने।