१९९५ मा स्थापना भई विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको गोरखा नेपलिज कम्युनिटीको आयोजनामा प्रत्येक वर्ष हुने जीएनसी शिल्ड प्रतियोगिताको २१ औँ संस्करणका खेलहरूका लागी अन्तिम चरणको तयारी हुँदैछ।
अक्टोबर २७ देखि माइनर लिगमा प्रवेश पाउन प्ले अफका खेलहरू पछि नोभेम्बर ३ देखि आधिकारिक रूपमा जीएनसी शिल्ड २०१९-२० का खेलहरू सुरु हुनेछ।
यस पटकको खेलमा अघिल्ला वर्षका कमी कमजोरी नदोहोरिउन भन्ने उद्देश्यले आयोजकका साथै सहभागी हुने क्लब तथा खेलाडीहरू पनि सजग रहेका छन्।
फुटबल खेललाई मर्यादित बनाउने उद्देश्यले विभिन्न योजनाहरू ल्याउनुका साथै अस्ट्रेलियाको नेपाली समुदायका खेलाडीहरूका लागी पहिलो पटक बिमाको व्यवस्था समेत गरिने भएको छ।
खेलाडीलाई बिमा
Source: Facebook/Gurkha Nepalese Community
खेल्ने क्रममा हुने दुर्घटनाका लागी बिमा गरिदा अझ बढी खेलप्रति समर्पित हुन प्रोत्साहित गर्ने गोरखा नेपलिज कम्युनिटीका उपाध्यक्ष राजीव प्रधानले एसबीएस नेपालीलाई बताए।
एन्फा अस्ट्रेलियाका अध्यक्ष बिजेन बटाजूले ८० प्रतिशत विद्यार्थीहरू रहेकाले यस्तो बिमाले उनीहरूलाई फाइदा पुर्याउने बताएका छन्।
"बिमा गर्नलाई सबै एन्फाका साथीहरू साथै क्लबका साथीहरू पनि लागेर हामीले यो तयार गर्यौँ र यो पाली हामीले लागू गर्यौँ। सबै क्लबहरूले चासो देखाएर यसमा सहभागी भएका छन् र यो चाहिँ एकदम महत्त्वपूर्ण हो विशेष गरी विद्यार्थी खेलाडीहरूका लागी।"
स्थापनाको दुई दशक काटी सके पछि खेलाडीहरूको बिमा गराउन आवश्यक देखेर यो कदम चालिएको र यसमा एन्फाका साथ साथै क्लबहरूको सहयोग पनि सह्रानीय रहेको बटाजूले बताए।
अघिल्लो वर्षको झगडा र अनुशासनको कारबाही
GNC's 20th annual football league. Source: Facebook/Gurkha Nepalese Community
महिनौँ सम्म चल्ने जीएनसी फुटबल टुर्नामेन्टमा अघिल्लो वर्ष तेस्रो स्थानका लागी भएको प्रतिस्पर्धामा सगरमाथा फुटबल क्लब र सेन्ट जर्ज नेपलिज क्लब का खेलाडीहरू बिच खेल मैदानमा झगडा हुँदा खेल नै रद्द गर्नु परेको थियो।
उक्त झगडामा प्रत्यक्ष संलग्न रहेका खेलाडीहरूले यो वर्ष खेल्न नपाउने भए पनि क्लबहरूलाई भने समावेश गरिएको छ।
क्लबहरूको एक वर्ष भरीको खेल अवलोकन गरेर प्रतियोगितामा सहभागी गराउने निर्णय गरिएको प्रधानले जनाएका छन्।
तर ती क्लबहरूले आफ्नो खेल र खेलाडीहरूका लागी कडा आचार संहिता लागू गराउनु पर्ने सर्त राखिएको छ।
प्रधानले खेलाडीहरूलाई अनुशासनमा राख्ने जिम्मेवारी क्लबको पनि हुने बताएका छन्।
"एउटा खेलाडीले दुर्व्यवहार गर्यो भने एन्फाले अथवा आयोजकले एउटा कारबाही गर्ला तर एउटा क्लब भएको नाताले चाहिँ उहाँहरूले के गर्नुहुन्छ त्यो पनि उहाँहरूले गहन रूपमा सोच्नु पर्ने हुन्छ।"
त्यस्तै एन्फा अस्ट्रेलियाका अध्यक्ष बटाजूले सामुदायिक खेल भएकोले सामुदायिक सद्भाव राखेर खेल खेल्नु पर्ने बताउँदै अनुशासनको कारवाहीले खेलाडीहरूलाई खेलको सम्मान गर्न सिकाउने बताएका छन्।
नेपाली सामुदायिक क्लबहरू बिचको जीएनसी फुटबल प्रतियोगिता आयोजकले त्यस्तो अवस्था फेरी नआओस् भन्नका लागी खेलाडीहरूलाई अनुशासन सम्बन्धी कार्यशाला गराएको हो।उक्त कार्यशालामा अघिल्लो वर्षको झगडामा संलग्न रहेको क्लबहरूले अनिवार्य उपस्थिति जनाउनु पर्ने बताइएको थियो।
Source: Amit Sonar/Amit's Photography via Facebook
प्रधान भन्छन्, "खेलाडीहरू गुणस्तरीय छन् सबै राम्रो छ र बर्षेनी यसमा सुधार आइरहेको छ तर अनुशासन भन्ने कुरा चाहिँ प्रत्येक वर्ष खस्कँदै गएको र कहिले काहीँ त अत्यन्तै नराम्रो भएको पनि अनुभव हुन्छ।"
एन्फा अस्ट्रेलियामा दर्ता भएका क्लबहरूमा सिड्नीमा मात्र प्रिमीयरमा १२ टिम, माइनरमा १० र भेटेरनमा ६ टिमहरूका साथ लगभग १ हजार ४ सय खेलाडीहरू एन्फाको सदस्य रहेका छन्।
यो वर्ष पनि अघिल्लो वर्ष जस्तै प्रतियोगितामा २१ क्लबहरू नै सहभागी हुनेछन्।
जीएनसीका खेलकुद प्रबन्धक समेत रहेका राजीव प्रधानले यस वर्ष ५ वटा नयाँ क्लबहरूले पनि सहभागिता जनाउने बताएका छन्।
जीएनसी शिल्ड प्रतियोगिताको अघिल्लो वर्षको उपाधि बेनी एफसीले जितेको थियो।
२०१९ को मार्च महिनामा भएको फाइनल खेलमा माछापुच्छ्रे फुटबल क्लबलाई ४ को विरुद्ध ७ गोलले पराजित गर्दै बेनी एफसीले जीएनसी शिल्ड जितेको हो।