यसै हप्ता एक नेपाली युवाले पानीमा डुबेर ज्यान गुमाएका छन् ।
२३ बर्सिया युवाको सिड्नीको दक्षिणी क्षेत्रमा रहेको रोयल नेशनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भयो ।
र यसरी पौडी खेल्ने क्रममा अस्ट्रेलियाको पानीमा डुबेर मृत्यु हुने उनी पहिलो नेपाली भने होइनन् ।
अघिल्लो वर्ष अर्थात् सन् २०२० को मार्च महिना सम्म ५ नेपालीले पानीमा पौडी खेल्ने क्रममै आफ्नो ज्यान गुमाए ।
रोयल लाइभ सेभिङस अस्ट्रेलियाको तथ्याङ्कलाई हेर्ने हो भने सन् २०१९/२० मा पौडी खेल्दा ज्यान गुमाउने मध्ये ४६ प्रतिशत आप्रवासी छन् ।
तथ्याङकहरुले अस्ट्रेलियाको समुन्द्री अवस्थाका बारेमा राम्रो ज्ञान नभएका अप्रवासि समुदायका मानिसहरू पानीमा डुब्ने घटनामा पर्ने गरेको देखाउँछ ।
नेपाली समुदायका अभियन्ता एवम् पत्रकार ऋषी आर्चाय अस्ट्रेलियामा नव आगन्तुक एवम् बिद्यार्थीहरुमा अस्ट्रेलियाको पानीको प्रकृतिका बारेमा ज्ञान नहुँदा दुर्घटनामा पर्ने गरेको बताउँछन् ।
“अधिकांस डुबेका घटनामा भर्खरै अस्ट्रेलिया आएका विद्यार्थी वा आप्रवासी परेको देखिन्छ । ” उनले भने ।

Rishi Acharya from the Nepalese Australian Association. Source: SBS News
नेपालबाट आएका विद्यार्थी, आगन्तुक वा आप्रवासीहरूमा अस्ट्रेलियाको समुन्द्री छाल,ताल, नदी वा पोखरीको गहिराइ र प्रकृतिको बारेमा ज्ञान हुदैन् ।
पौडी खेल्न आउँछ भन्दैमा पानीको बहावको ज्ञान नभई हाम फाल्नु ज्यान जोखिममा पार्नु हो ।
त्यसो त यस्ता घटनाहरूमा ज्यान गुमाएका अधिकास नेपाली, युवा उमेर समूहका छन् ।
अस्ट्रेलियाको रोयल लाइभ सेभिङसले जारी गरेको २०१९ जुलाई देखि जुन २०२० सम्मको तथ्याङ्क रिर्पोटमा पानीमा डुबेर मृत्यु हुने १७ प्रतिशत मानिस २५ देखि ३४ वर्ष उमेर समूहका रहेका देखाएको छ ।
पत्रकार आचार्य भन्छन् “नेपाली समुदायमा पिकनिक वा क्यापिङ जाने चलन बढी छ, यस्तो अवस्थामा मदिरा सेवन गर्ने र पानीमा पौडी खेल्ने देखिन्छ, जसको कारण दुर्घटना हुन पुग्छ । ”

Source: website
रोयल लाइभ सेभिङसको रिर्पोटमा सन् १९/२० मा पानीमा पौडी खेल्ने क्रममा मारिएका घटनामा २७ व्यक्तिहरूले मदिरा सेवन गरी पौडी खेलेको पाइएको छ ।
पत्रकार आचार्य सामुदायिक सङ्घ संस्थाहरू मिलेर प्रत्येक वर्ष कम्तीमा पनि एक पटक पानी र सडक सुरक्षाका बारेमा नेपाली समुदायका सदस्यहरूलाई जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने आवश्यकता रहेको बताउँछन् ।
“अन्य मुलुक बाट आएका मानिसहरूमा अस्ट्रेलियाको पानीका बारेमा राम्रो ज्ञान हुन्छ र सचेत रहन्छन् , नेपाली समुदायका सदस्यहरूमा यस सम्बन्धी ज्ञानको कमी छ,वर्षमा कम्तीमा पनि एक पटक पानीको जोखिमका बारेमा जनचेतना कार्यक्रम गर्नु आवश्यक छ ।” उनले भने ।
यसो त गैर आवासीय सङ्घ अस्ट्रेलियाले पनि यस विषयमा जनचेतना जगाउनका लागि टास्क र्फोर्सको निर्माण गरेको सङ्घका सचिव डाक्टर ज्ञानेन्द्र रेग्मी बताउँछन् ।
“गत अप्रिल महिनामा प्रज्वल भट्टराईको संयोजकत्वमा पानी सुरक्षाका बारेमा टास्क फोर्स तैयार पारेका छौ ,चाडै नै यसका बारेमा अनलाइन मार्फत तालिम सञ्चालन गदैछौ ।” उनले भने ।

Source: suppiled
यस बाहेक सामाजिक संजालहरुमा पानीबाट सुरक्षाका लागि जानकारीमूलक सूचनाहरू राखेको उनी बताउँछन् ।
अस्ट्रेलियामा सन् २०१९/२० मा दुई सय ४८ जना मानिसहरूले पानीमा डुबेर ज्यान गुमाएको रोयल लाइभ सेभिङसको तथ्याङ्कले देखाएको छ ।
यसरी ज्यान गुमाउने मध्ये ८० प्रतिशत पुरुषहरू रहेका छन् ।

Source: website
पानीको डुबानको घटनामा अत्यधिक जोखिमको महिना चलिरहँदा नेपाली समुदायका सदस्यहरूले पानीमा जाँदा आवश्यक सुरक्षा अपनाउनु आवश्यक देखिन्छ ।
लाइफ गार्ड भएको क्षेत्र वा पानीको बहावको बारेमा राम्रो जानकारी भएको क्षेत्रमा मात्र पौडी खेल्नु उचित रहने पत्रकार आचार्य र डाक्टर रेग्मी सुझाव दिन्छन् ।