प्रधानमन्त्री स्कट मोरिसनले कोभिड-१९ भाइरस सङ्क्रमण कम गर्न भन्दै अत्यावश्यक बाहेकका घर बाहिर गरिने क्रियाकलापहरू बन्द गर्न निर्देशन जारी गरेपछि केही नेपालीद्वारा संचालित व्यवसायहरू पनि यसको चपेटामा परेका छन्।
सङ्घीय सरकारले बुधवार कपाल काट्नका लागी ३० मिनेटको समय सीमा तोकेको थियो तर ३० मिनेट अत्यन्त कम भएको भन्दै नियमको आलोचना भए पछि भने न्यु साउथ वेल्सले सो समय सीमालाई हटाएको छ।
कपाल काट्ने समय सीमा हटाइएको भए पनि अन्य सौन्दर्यसँग सम्बन्धित कुनै पनि सेवा लगाइएको रोकमा भने परिवर्तन भएको बारे स्पष्ट पारिएको छैन।
यसले गर्दा आफ्नो व्यवसायमा निकै ठुलो प्रभाव परेको न्यु साउथ वेल्समा आरबी हेयर एण्ड ब्युटी लाउन्ज सञ्चालन गर्दै आएका सन्देश राज भण्डारी बताउँछन्।ग्राहकहरू आउने क्रममा गत हप्ताबाट चाहिँ घट बढ भइराखेको उनको भनाइ छ।
तर उनलाई विश्वभर नै महामारी फैलिएको समयमा यो व्यवसाय सुस्ताउनु सामान्य लागेको छ।
साथै राज भण्डारी व्यवसाय कम भएको यो समयमा आफ्ना कर्मचारीहरू कटौती गरी खर्च कम गर्दै सन्तुलन गर्न प्रयास गरि रहेका छन्।

फाइल फोटो Source: sbs nepali
"अहिले स्टाफहरू अलि कम गरेर, हामी आफैले गरेर खर्च कटौती गर्ने हिसाबले काम गरिरहेका छौँ।"
तर आरबी हेयरसँगै टाँसिएको सगुन ग्रोसरीका दिवस सापकोटालाई भने यो समयमा भ्याई नभ्याई छ।
आगामी दिनमा केही सामान नपाउने हो कि भन्ने त्रासले चाहिने भन्दा बढी सामाग्री किन्ने ग्राहकहरूको चाप धान्न सापकोटालाई हम्मे हम्मे परेको छ।
"सधैँ एक किलो गेडागुडी लग्ने मान्छेहरूले अनावश्यक पाँच किलो, दस किलो, पन्ध्र किलो लागि राखेका छन्, त्यसले गर्दा पसल एकदम व्यस्त छ, एक जनाले स्टोर गर्दा कसैलाई नपुग्ने अवस्था छ।"

Source: SBS
यसरी केही निश्चित सामाग्रीहरूको माग अत्यधिक हुँदा सप्लायरहरू पनि सामान उपलब्ध गराउन असमर्थ भइराखेका छन्।
दिवसले केही समय यता नेपाली ग्राहकहरूले चामल, गेडागुडी र तेल अधिक मात्रामा किन्ने गरेको देखेका छन्। र यसले गर्दा आफ्नो पसलमा अन्य सामाग्रीहरू पाइए पनि यी तिन सामग्रीको अभाव भएको छ।
सप्लायरको समस्या?

फाइल फोटो Source: SBS Nepali
समुन्द्रमा रहेका कन्टेनरहरू मात्र आउने र थप कन्टेनर आउन सक्ने अवस्था कम भएका कारण माग अनुसार आपूर्ति गर्न गाह्रो हुने उनको भनाइ छ।
"एउटा कन्टेनर आइसक्यो, दुईटा आउँदै छन् , समुन्द्रमा भएका त्यत्ति हुन्। कलकत्तामा तिन वटा, नेपालमा ३ वटा अड्किएका छन्।"
चामल तथा गेडागुडीको आपूर्ति नगर्ने केसीलाई भने चाउचाउ र चिनीको माग पुरा गर्न अलि गाह्रो भएको छ।
कुनै पसलमा निश्चित सामान हुने र अन्यमा नहुने अवस्था नआओस् भन्नको लागी कोटा प्रणालीमा समान रूपमा पसलहरूमा सामान वितरण गरिएको केसी बताउँछन्।
माग बढे सँगै खुद्रा पसलहरूले सप्लायरले सामानको मूल्य बढाएको गुनासो गरिरहँदा श्याम केसी मूल्य बढेको कुरा सत्य भएको स्विकार्छन्।
व्यवसाय नभए पनि केही समयका लागी कर्मचारीहरूलाई तलब दिने देखि सञ्चालन खर्च पनि टार्नु पर्ने बाध्यता एका तर्फ रहेको छ भने केसी यसरी मूल्य बढाउनुमा अस्ट्रेलियाली डलरको विनिमय दर कम हुनु प्रमुख कारण भएको बताउँछन्।
"अस्ट्रेलियन डलरको अमेरिकन डलरसँग मुद्रा विनिमय दर दैनिक फरक भए पनि सामान्य तया लगभग २० देखि २५ % ले घटेका कारणले गर्दा सामानहरूको मूल्यमा पनि १०-१२ % प्रतिशत वृद्धि भएको सत्य हो।"
व्यवसायीहरू जोखिममा?
२६ मार्च देखि अन्य विभिन्न व्यवसायहरू बन्द भए पनि कपाल काट्ने पसलहरू खुल्ला राख्न अनुमति दिइएको कतिपय व्यवसायीहरूले आफूहरूको स्वास्थ्य जोखिममा रहने भन्दै सो नियमको आलोचना गरेका छन्।
अस्ट्रेलियाको हेयरड्रेसिंग परिषदकि स्यान्डी चंगले यस्ता व्यवसाय सञ्चालन गर्न दिँदा व्यवसायीहरूको स्वास्थ्यलाई जोखिम हुने बताएकी छन्।
"यो त अत्यन्त खराब भयो किनभने यसले गर्दा हाम्रा सम्पूर्ण हेयर ड्रेसर तथा बार्बरहरूको स्वास्थ्य माथि जोखिम राख्छ।"

Source: Unplash
सन्देश राज भण्डारीले पनि यस्ता जोखिमबारे जानकारी राखेका छन्।
उनले आफ्नो पसलमा आउने ग्राहकहरूको तापक्रम जाँच्ने र सेवा दिँदा ग्लोभ्स तथा मास्कको प्रयोग गरेर जोखिम न्यूनीकरण गर्ने प्रयास गरेका छन्।
"हाम्रो पसल पनि पुरै स्यनिटाइज छ अनि बाहिरबाट आउने मान्छेहरूलाई पनि तापक्रम जाँचेर देखि स्यानीटाइज गरेर, मास्कहरू सबै छ-मास्कहरू लाएर पुरै तयारी गरेर मात्र काम गरिराखेका छौँ।"
यो पनि सुन्नुहोस्

कोरोनाभाइरसका कारण अस्ट्रेलियाका नेपाली व्यवसायीहरु माथि परेका असर
ग्राहकहरूको सबैभन्दा बढी भिडभाड रहने किराना पसल सञ्चालकहरूमा पनि सुरक्षा चिन्ता हुनु सामान्य हो। र नगद कारोबार गर्दा कोही मानिसको प्रत्यक्ष सम्पर्कमा आए पछिनै भाइरसको सङ्क्रमण हुने जोखिम रहने भएकाले दिवस सापकोटाले आफूलाई डरै लाग्ने बताएका छन्।
"त्यो जोखिम कम गर्नको लागी मैले पसलमा बस्दा मास्क लगाउने, स्यानीटाइजर प्रयोग गर्ने र प्रत्येक नोटको कारोबार पश्चात् स्यानीटाइजरले हात सफा गर्छु।"
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको मा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र अन्य जानकारी यहाँ उपलब्ध छन्: