अस्ट्रेलिया बुझ्नुहोस्: के तपाईँ उच्च शिक्षा ऋण कार्यक्रमका लागि योग्य हुनुहुन्छ?

Are you eligible for the Higher Education Loan Program?

Are you eligible for the Higher Education Loan Program? Source: SBS

करिब ३० लाख अस्ट्रेलियनहरूले उच्च शिक्षा ऋण कार्यक्रम अर्थात् 'हेल्प' योजना मार्फत सरकारी ऋण पाएका छन्। यदि तपाईँ उच्च शिक्षा लिने सोच्दै हुनुहुन्छ भने, तपाईँले पनि जागिर नपाउँदासम्म पढाइको शुल्क नतिर्नको लागि योग्य हुन सक्नुहुन्छ।


मुख्य बुँदाहरू:
  • तपाईँले हेल्प ऋण लिएपछि जागिर नपाउँदासम्म पढाइको शुल्क तिर्नुपर्दैन।
  • जबसम्म तपाईँको आय प्रति वर्ष ५१,५०० डलर पुग्दैन, तपाईँले आफ्नो ऋण तिर्न सुरु गर्नु पर्दैन।
  • योग्य हुनको लागि तपाईँ अस्ट्रेलियाको नागरिक हुनुपर्छ वा स्पेसल भिसा वा दीर्घकालीन रूपमा यहीँ बस्ने मापदण्ड पूरा गर्नुपर्छ।
  • नतिरिएका हेल्प ऋणहरू उपभोक्ता मूल्य सूचकाङ्क अनुरूप बढ्छन्।
अस्ट्रेलियामा उच्च शिक्षामा भर्ना गर्दा, तपाईँले आफ्नो पढाइ शुल्क पनि सँगसँगै व्यवस्था गर्नुपर्छ।

केही विद्यार्थीहरूले आफ्नो ‘ट्यूिशन फि’ सुरुमै तिर्न सक्छन् तर धेरैजसोले भने सरकारी ऋण लिएर तिर्ने गरेको पाइन्छ।

यो सरकारी ऋण कार्यक्रमलाई ‘हायर एजुकेसन लोन प्रोग्राम’ अर्थात् उच्च शिक्षा ऋण कार्यक्रम, वा 'हेल्प'को रूपमा चिनिन्छ।

हेल्पका प्रकारहरू

पाँच वटा विशेष मद्दत योजनाहरू छन्, जसमा 'हेक्स-हेल्प' र 'फि-हेल्प' सबैभन्दा प्रचलित छन्।

शिक्षा विभागकी प्रवक्ता स्टेफनी स्टकवेल भन्छिन् कि तपाईँ हेक्स-हेल्प लोनको लागि योग्य हुन ‘कमनवेल्थ सपोर्टेड प्लेस’ अन्तर्गत भर्ना भएको हुनुपर्छ।
सीएसपी भनेर चिनिने कमनवेल्थ सपोर्टेड प्लेस भनेको विद्यार्थी विश्वविद्यालयमा भर्ना भएपछि सरकारले विश्वविद्यालयलाई सिधै अनुदान तिर्छ, त्यसैले विद्यार्थीको लागि अध्ययन शुल्क कम पर्न जान्छ। तर विद्यार्थीले केही शुल्क भने तिर्नुपर्ने हुन्छ, सोही बाँकी शुल्क तिर्नको लागि यदि तपाईँ योग्य हुनुहुन्छ भने हेल्प लोन पाउन सक्नुहुन्छ।
स्टेफनी स्टकवेल, प्रवक्ता, शिक्षा विभाग
हेक्स-हेल्प त्यही बाँकी रहेको ट्युसन फि तिर्नको लागि मात्र पाइन्छ तर बसोबास लगायत अरू खर्चका लागि भने पाइँदैन ।

हेक्स-हेल्प वा फि-हेल्प ऋण पाइन्छ भन्ने कुरा, तपाईँ कुन योजना अन्तर्गत भर्ना हुनुभएको छ, त्यसमा निर्भर गर्छ।

स्टकवेल भन्छिन् कि सरकारको समर्थन प्राप्त वा सीएसपीमा भर्ना हुनुभएको छ भने हेक्स-हेल्प ऋण पाइन्छ तर पूरा शुल्क तिर्नुपर्ने वा सरकारी अनुदान उपलब्ध नभएका विश्वविद्यालयमा भर्ना भएमा फि-हेल्प ऋण पाइन्छ ।

हेक्स-हेल्प वा फि-हेल्पको फाइदा भनेको नै विद्यार्थीहरूले आफ्नो अध्ययन शुल्क सुरुमै बुझाउनु पर्ने हुँदैन। तर सबै विद्यार्थीहरू कमनवेल्थ सपोर्टेड प्लेस वा हेल्प लोनको लागि योग्य हुँदैनन्।
How is your HELP debt calculated?
How is your HELP debt calculated? Source: Getty / Getty Images/Kanawa_Studio

के तपाईँ हेल्पको लागि योग्य हुनुहुन्छ?

हेल्पका लागि योग्य हुन आवश्यक मापदण्डहरू:
  • तपाईँ अस्ट्रेलियन नागरिक हुनु पर्छ र केही कोर्सहरू अस्ट्रेलियामा पढ्ने योजना हुनु पर्छ।
  • वर्तमान वा योग्यता पुगेका पूर्व न्यु जिल्यान्ड स्पेसल क्याटेगरी भिसा भएका व्यक्ति जसले दीर्घकालीन रूपमा अस्ट्रेलियामा बस्ने मापदण्ड पूरा गर्छन् र आफ्नो पूरा कोर्स यहाँ पढ्ने योजना बनाउँछन्।
  • स्थायी वा योग्य पूर्व मानवीय भिसामा रहेकाहरू जो पढाइको पूरा अवधिमा अस्ट्रेलियामा बस्नेछन्। 
  • प्यासिफिक इन्गेजमेन्ट भिसामा रहेका व्यक्तिहरू। 
अस्ट्रेलिया बाहिर रहेका पेसाकर्मीहरूले ब्रिजिङ कोर्स गर्नको लागि विशेष फि-हेल्प ऋण पाउन सक्छन्।

तपाईँको हेल्प ऋण कसरी गणना गरिन्छ?

तपाईँ फुल टाइम पढ्नुहुन्छ वा पार्ट टाइम, तर तपाईँले कति वटा युनिटहरू लिनुहुन्छ भन्ने आधारमा हेल्प ऋणको हिसाब गरिन्छ।

ब्रुस च्यापम्यान अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा अर्थशास्त्रका अवकाश प्राप्त प्रोफेसर र हेक्स प्रणालीका योजनाकार हुन्। उनी भन्छन् कि पढाइको शुल्क वार्षिक रूपमा नभएर युनिटको आधारमा तय गरिन्छ ।

"तपाईँ कुनै डिग्रीमा भर्ना हुनुभयो भने, पहिलो सेमेस्टरमा चार युनिटहरू गर्न सक्नुहुन्छ, र प्रत्येक युनिटको निश्चित फि बुझाउनुपर्ने हुन्छ। तर तपाईँले ऋण लिँदा सबै युनिटलाई मिलाएर हुने रकमबाट पाउनु हुन्छ," उनले बताए।

"उदाहरणका लागि - एक वर्षमा तपाइको ३,००० डलर खर्च हुन सक्छ, तर यदि अर्को वर्ष तपाईँले एउटा कोर्स मात्र लिनुभयो भने, तपाईँको ऋण लगभग ५०० डलरले मात्र बढ्छ।"
Happy Australian students
Horizontal color image of a small group of Australian university students from different heritages and backgrounds. Credit: funky-data/Getty Images

ऋण कसरी तिर्ने?

जब ऋण तिर्ने समय आउँछ तपाईँका लागि हिसाब गरिन्छ। तपाईँले रोजगारी नपाउन्जेल सम्मको लागि त्यो ऋणलाई चलाइँदैन।

तपाईँको रोजगारदाताले तपाईँको प्रत्येक तलबमा आम्दानी करका लागि रकम छुटाउँदा केही बढी छुटाउँछन् जसलाई हेल्प ऋण तिर्न प्रयोग गरिन्छ।

प्रोफेसर च्यापम्यान भन्छन् कि तपाईँको वार्षिक आम्दानीको आधारमा मात्र यस्तो गर्न मिल्छ।

"वर्तमानमा वार्षिक ५२,००० भन्दा केही कमदेखि तलबको केही प्रतिशत ऋण तिर्न छुटाइन्छ। र यो आम्दानीको एक प्रतिशतबाट सुरु हुन्छ," उनले भने।

"उदाहरणको लागि तपाईँको ऋण ३०,००० डलर छ तर पाँच वर्षसम्म काम गर्नुभएन भने पनि केही फरक पर्दैन तर जब तपाईँको ५२,००० डलर आम्दानी हुन्छ, त्यसको एक प्रतिशत अर्थात् ५२० डलर ऋण तिर्नमा जान्छ। यसरी नै ऋण चुक्ता नभएसम्म तपाईँको तलबबाट पैसा काटिन्छ।"

हेल्प ऋण तिर्न सक्ने क्षमता सम्बन्धित व्यक्तिको आम्दानीमा निर्भर हुन्छ, र सबैको आम्दानी फरक हुन्छ।

यसको मतलब हेल्प ऋण भएकाहरूलाई उनीहरूको अवस्था अनुकूल ऋण तिर्ने व्यवस्था भएकोले एउटाको ऋण तथा ऋण तिर्ने व्यवस्था अर्को व्यक्ति सँग नमिल्न सक्छ।

यो ब्याङ्कको ऋण भन्दा फरक हुने प्रोफेसर च्यापम्यान बताउँछन्।

"ब्याङ्कबाट लिइने ऋणमा सबैले प्रत्येक महिना एक निश्चित रकम तिर्नु पर्छ र यसको ब्याज दर समेत बेलाबेला समायोजन हुन्छ। र कति समयसम्म ऋण तिरिसक्नुपर्छ यो सबै स्पष्ट हुन्छ," उनले बताए।
हेक्स ऋणको सन्दर्भमा भने धेरै आम्दानी भएका केही व्यक्तिहरूले त लगभग पाँच वर्षमा चुक्ता गर्न सक्छन् र केही मानिसहरूले रोजगारी छोड्दासम्म पनि तिरिसक्दैनन्, त्यसैले यो धेरै विविध छ। हेल्प ऋण तिर्न औसतमा भने लगभग १० वर्ष लाग्ने गरेको पाइएको छ।
ब्रुस च्यापम्यान, अर्थशास्त्रका अवकाश प्राप्त प्रोफेसर, अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा
तपाईँले आफ्नो आय तोकिएको बिन्दुमा (वार्षिक ५२,००० डलर) नपुग्दा सम्म ऋण तिर्न सुरु गर्नुपर्दैन। तर यो याद राख्नन महत्त्वपूर्ण छ कि यसो गर्दा तपाईँको ऋण भने बढ्न सक्छ।

स्टेफनी स्टक्वेल भन्छिन् कि हेल्प ऋणमा तिर्न बाँकी रकम प्रत्येक वर्ष सूचिमा तपिँदै लगिन्छ र सोही अनुपातमा मूल्य बढ्न सक्छ।

"कस्ट अफ लिभिङमा हुने परिवर्तनसँग मिलोस् भन्नका लागि यस्तो गरिन्छ। यसको अर्थ हेल्प ऋणको रकममा पनि समयसँगै वृद्धि आउन सक्छ," उनले बताइन्।

यदि तपाईँ केही लामो समयको लागि विदेशमा जानुभयो भन्दैमा तपाईँको ऋण हट्दैन।

हेल्प योजनाको एक महत्त्वपूर्ण विशेषताका कारण यो विदेशी विद्यार्थीहरूका लागि रहेका अन्य ऋण योजनाहरू भन्दा फरक रहेको प्रोफेसर च्यापम्यानको भनाइ छ।

ऋण तिर्ने कुरा आम्दानीमा निर्भर हुने हुनाले, यदि तपाईँ आर्थिक कठिनाइको सामना गर्दै हुनुहुन्छ भने 'डेट कलेक्सन' वा ऋण सङ्कलनबाट सुरक्षित हुनुहुन्छ।

"यदि मानिसहरू समस्यामा छन्, उनीहरूले आफ्नो जागिर गुमाएका छन्, बिरामी छन् वा वृद्ध आमाबाबु वा नवजात बच्चाको हेरचाह गरिरहेका छन् भने, उनीहरूले भुक्तानीको बारेमा चिन्ता लिनु पर्दैन किनभने सरकारले उनीहरूको आर्थिक परिस्थिति सुध्रिए पछि सङ्कलन गर्छ," च्यापम्यानले बताए।
The University of Sydney
The University of Sydney Source: AAP

"आवेदन हाल्न सजिलो छ"

रेने हिन्डमार्श बताउँछिन् कि हेक्स-हेल्प र फि-हेल्प ऋणको लागि तपाईँ योग्य हुनुहुन्छ भने आफ्नो पढाइको पूरा अवधिमा एक पटक मात्र आवेदन दिँदा हुन्छ।

आवेदन प्रक्रिया सजिलो रहेको उनको भनाइ छ।

"योग्य विद्यार्थीहरूले प्रदान गर्ने हेक्स-हेल्प फारमको लागि आवेदन दिनुपर्छ। र आवेदनको पुष्टीकरणको लागि फारममा ट्याक्स फाइल नम्बर (टीएफएन) वा टीएफएनको आवेदन र त्यसका साथै उनीहरूको ‘युनिक स्टुडेन्ट आइडेन्टटिफायर’ दिनुपर्छ," उनले बताइन्।

उच्च शिक्षा अध्ययनका लागि सरकारी सहायता बारे थप जानकारी तपाईँले studyassist.gov.au मा पाउन सक्नुहुन्छ।

Share