अस्ट्रेलिया बुझ्नुहोस्: फार्मेसीहरू कसरी सञ्चालन हुन्छन्?

Pharmacist with customer

Pharmacists dispense prescription medicine. Source: Getty / Tom Werner/Getty Images

अस्ट्रेलियामा, फार्मसिस्टहरूले प्रेसक्रिप्सन औषधिहरू र स्वास्थ्य सम्बन्धी सल्लाहहरू दिने गर्छन्। समुदायलाई सुरक्षित औषधि प्रयोग र रोग रोकथामको बारेमा शिक्षित गर्ने फार्मेसी प्रणालीले अस्ट्रेलियामा कसरी काम गर्छ भन्ने बारे अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा सुन्नुहोस्।


Key Points
  • यदि तपाईँलाई डाक्टरले औषधिको लागि प्रेसक्रिप्सन दिए, तपाईँले उक्त औषधि पाउन फार्मेसीमा जानुपर्छ।
  • फार्मसिस्टहरूले कहिलेकाहीँ खोप दिन र ब्लड प्रेसर जाँच सहित अन्य केही स्वास्थ्य परीक्षणहरू गर्न सक्छन्।
  • अस्ट्रेलियाको फर्मास्युटिकल बेनिफिट स्कीम (पीबीएस) सस्तो औषधि प्रदान गर्न डिजाइन गरिएको सरकारी सहायता हो - र यो सहायता अन्तर्गतको छुट प्राप्त गर्न, बिरामी अस्ट्रेलियाको निवासी र हालको मेडिकेयर भएको व्यक्ति हुनुपर्छ।
फार्मसिस्टहरू अस्ट्रेलियामा सबैभन्दा सजिलै पहुँच पाउन सकिने स्वास्थ्य सेवाकर्मीहरू मध्ये एक हुन्। जसले वृहत् किसिमका सेवाहरू प्रदान गर्छन्।

फार्मेसीहरूले विभिन्न किसिमका औषधि र स्वास्थ्य सम्बन्धी उत्पादनहरू भण्डार गरेका हुन्छन्।

केमिस्ट पनि भनिने सामुदायिक फार्मेसीहरूले स्थानीय क्षेत्र भित्रका बिरामीहरूलाई सेवा दिन्छन्, जबकि अस्पतालका फार्मेसीहरूले अस्पतालमा आएका बिरामीहरूलाई सेवा दिने गर्छन्।

अस्ट्रेलियामा, अप्रत्याशित रोगहरू वा दीर्घकालीन स्वास्थ्य अवस्थाहरूको लागि सामान्यतया तपाईँले डाक्टरबाट प्रेसक्रिप्सन लिनु पर्छ।

त्यसपछि यी प्रेसक्रिप्सन लिएर फार्मेसीमा जानु पर्छ।

लिना मन्सूर मेलबर्नकी फार्मसिस्ट हुन् जससँग इजिप्ट र अस्ट्रेलिया दुवै देशमा काम गरेको अनुभव छ।

उनले विदेशको तुलनामा यहाँ फार्मेसीहरू कसरी सञ्चालन हुन्छन् भन्ने भिन्नता प्रत्यक्ष रूपमा देखेकी छिन्।

फार्मेसी प्रणाली कसरी काम गर्छ भनेर फरक पृष्ठभूमिका मानिसहरूको फरक बुझाइ हुने उनको भनाइ छ।

"कतिपय मानिसहरूलाई केही कुराहरूबारे जानकारी हुँदैन - उदाहरणका लागि मेडिकल प्रेसक्रिप्सनको निश्चित म्याद हुन्छ, जुन औषधीको प्रकारको आधारमा एक वर्ष वा छ महिना निर्धारण गरिएको हुन सक्छ।"

फार्मेसीमा सामान्य रूपमा देखिने अवस्था भनेको बिरामीहरूले अस्ट्रेलिया बाहिरका डाक्टरले सिफारिस गरेको औषधि माग्नु हो।

प्रेसक्रिप्सन बिना नै फार्मेसीमा आउने र रक्तचाप वा ब्लड प्रेसरको औषधि माग्ने अवस्था धेरै देखिने मन्सूरको भनाइ छ।

"त्यो ब्लड प्रेसरको औषधि अस्ट्रेलिया बाहिरका डाक्टरले प्रेस्क्राइब गरेका हुन्छन्। अस्ट्रेलिया कै डाक्टरबाट प्रेसक्रिप्सन नल्याएसम्म फार्मसिस्टले औषधि दिन सक्दैन भनेर मैले बुझाउने गरेको छु।"

प्रेसक्रिप्सन चाहिने औषधि

अस्ट्रेलियामा, दर्ता भएका रजिस्टर्ड डाक्टरहरूले मात्र प्रेसक्रिप्सन जारी गर्न सक्छन्, जुन अनुसार त्यसपछि फार्मेसीहरूमा गएर औषधि भर्न सकिन्छ।

टम एन्ड्रु पर्थमा क्याप्टेन स्टर्लिङ फार्मेसीका मालिक हुन्।
e-script accessible via mobile phone
E-scripts are accessible on your phone Credit: Yong Hwee Goh
र उनी प्रेसक्रिप्सनहरू डाक्टरले हातले लेखेको, कम्प्युटरमा बनाइ प्रिन्ट गरिएको वा इ-स्क्रिप्टका रूपमा फार्मेसीमा लग्न सकिने बताउँछन्।

अस्ट्रेलियाका सबै प्रेसक्रिप्सनहरूमा औषधिमा रहेका सक्रिय तत्त्वहरूको नाम हुन्छ। त्यसैले एक बिरामीको रूपमा तपाईँले औषधिको ब्रान्ड नाम मात्र नभएर के औषधि हो भनेर आफैँले चिन्न सक्नुहुन्छ।
 
फार्मसिस्टहरूले एउटै औषधिको ब्रान्ड-नाम र अलि सस्तो किसिमको जेनेरिक संस्करणहरू राखेका हुन सक्छन्।

जेनेरिक औषधिमा ब्रान्ड नामको औषधिको जस्तै सक्रिय तत्त्वहरू हुन्छन् जसलाई सरकारी नियामकद्वारा परीक्षण गरि स्वीकृति दिइएको हुन्छ।

एन्ड्रु भन्छन्, फार्मसिस्टले औषधि वितरण गर्ने निश्चित क्षेत्र औषधि पसलमा तोकिएको हुन्छ।

"प्रेसक्रिप्सन अनुसार औषधि भर्नु अगाडी फार्मेसीका कर्मचारी वा फार्मसिस्टले बिरामीसँग केही विवरण माग्न सक्छन्। केही विवरण सजिलो किसिमको हुन्छन् जस्तै उनीहरूको ठेगाना, जन्म मिति वा मेडिकेयर बारे हुन सक्छन्। अन्य विवरणमा विशेष गरि बच्चाहरूको हकमा हालको तौल बारे, साथै उक्त औषधि नयाँ हो भनेर सोध्न सकिन्छ भने बिरामीलाई कुन ब्रान्ड चाहिएको हो भनेर पनि सोध्न सकिन्छ।"

बिरामीको लागि सही औषधि र त्यसको सही डोज सुनिश्चित गरेपछि फार्मसिस्टले औषधि तयार गर्छन्।

औषधिको वर्गीकरण

अस्ट्रेलियामा सबै औषधिहरूलाई विषको रूपमा वर्गीकरण गरिएको छ।

त्यसपछि प्रत्येक औषधि बिरामीहरूको लागि कति सुरक्षित छ भन्ने आधारमा तालिकामा राखिन्छ।

यो बुझ्न महत्त्वपूर्ण छ कि निश्चित तालिकामा रहेका औषधिहरूमा पहुँच पाउने नियम राज्य वा प्रदेशको आधारमा भिन्न हुन सक्छ।

पर्थकी फार्मसिस्ट योङ ह्वी गो भिन्न तालिका वा 'सेड्युल' भन्नाले के बुझ्ने बनेर व्याख्या गर्छिन्।

'अनसेड्युल्ड' वा तालिकामा नपरेका औषधिहरू फार्मेसी बाहेक सुपर मार्केट, पेट्रोल स्टेसन लगायतका स्थानमा पनि पाउन सकिन्छ।

"फार्मेसी औषधिहरू 'सेड्युल टु'को रूपमा पनि चिनिन्छ, यस्ता औषधिहरू फार्मेसीहरूमा मात्र बिक्री हुन्छन् तर यसको लागि प्रेसक्रिप्सन आवश्यक पर्दैन।"

वेस्टर्न अस्ट्रेलिया बाहेकका राज्यहरूमा यस्ता औषधिहरू फार्मसिस्टको निगरानीमा ग्राहक आफैँले छनौट गरेर लग्न सक्ने गोको भनाइ छ।

अनि अरू भनेको सेड्युल थ्री (एस ३) र सेड्युल फोर (एस ४) औषधिहरू पनि हुन्छन्।

"फार्मसिस्ट-अन्ली मेडिसिन- सेड्युल थ्री को लागि प्रेसक्रिप्सन चाहिँदैन तर फार्मसिस्टहरूको सुझाव र निगरानी हुनु पर्छ। किनभने यस्ता औषधिहरूको उल्टो असर पर्ने र दुरुपयोग हुने सम्भावना बढी हुन्छ।"

जस्तै की अलि कडा खालको एन्टी हिस्टामिन, दमको बिरामीहरूलाई राहत दिन प्रयोग हुने औषधिहरू यसमा पर्छन्।

योङ ह्वी भन्छिन्, "प्रेसक्रिप्सन मेडिसिन वा सेड्युल फोरको लागि फार्मेसीमा औषधि वितरण गर्नु अघि प्रेसक्रिप्सन हुन आवश्यक छ।"

अस्ट्रेलियामा फर्मासेट्युकल बेनिफिट स्किम वा पीबीएस भनिने सरकारी सहायता उपलब्ध रहेको छ, जसलाई विभिन्न औषधिहरू सस्तोमा पाउन सकियोस् भन्नको लागि डिजाइन गरिएको हो।

यो सब्सिडी प्राप्त गर्नको लागि, तपाईँ अस्ट्रेलियाको बासिन्दा हुनु पर्छ र हालको मेडिकेयर कार्ड भएको पनि हुनु पर्छ, एन्ड्रु बताउँछन्।
Pharmacist.png
Pharmacist Lena Mansour - Image supplied. Pharmacist Tom Andrew – Image supplied. Pharmacist Yong Hwee Goh - Image supplied.
"पीबीएस अन्तर्गत हरेक पल्ट औषधि लिँदा प्रत्येक औषधिमा बिरामीले तिर्ने रकम सीमित हुन्छ। तर यो पनि बिरामीसँग कन्सेसन कार्ड छ कि छैन भन्ने कुरामा निर्भर गर्छ।"

उनी भन्छन् जस्तै कन्सेसन कार्ड भएका बिरामीहरूले प्रत्येक पटक औषधि लिँदा ७.७० डलर तिर्नु पर्छ भने सामान्य बिरामीको लागि त्यति नै औषधिलाई ३१.६ डलर पर्छ।

अस्ट्रेलियाको अन्य धेरै देशहरूसँग पारस्परिक स्वास्थ्य हेरचाह सम्झौता पनि रहेको छ। यसको मतलब तपाईँसँग अस्ट्रेलियन मेडिकेयर कार्ड नभए पनि, तपाईँले पीबीएस अनुदानको दरमा औषधि किन्न सक्नुहुन्छ।

यद्यपि, अस्ट्रेलियामा सबै औषधिहरूलाई पीबीएसले कभर गर्दैन।

"यी औषधिहरू प्राइभेट स्क्रिप्ट अन्तर्गत वितरण गरिन्छ। यस्ता स्क्रिप्टलाई मेडिकेयर द्वारा कभर नगरिएकोले औषधिको मूल्य एक फार्मेसीदेखि अर्कोमा फरक पर्छ।"

एन्ड्रु भन्छन् यस छुट दिन मेडिकेयर नभए पनि निजी स्वास्थ्य बीमा भएकाहरूको बीमा कम्पनीले प्रायः खर्चको केही हिस्सामा योगदान गर्छ।
Pharmacists offer healthcare services and products
Pharmacists offer a large range of healthcare services and products. Credit: Yong Hwee Goh

फार्मेसीको थप काम

रुघा, खोकी, एलर्जी, छालाको रोग लगायतमा फार्मसिस्टले रोग निदान गर्ने देखि उपचार गर्न सहयोग गर्ने गरेको भन्दै योङ ह्वी फार्मसिस्टहरूले प्रदान गर्ने अन्य स्वास्थ्य सेवाहरूको दायरा बारे यस्तो बताउँछिन्।

"एक फार्मसिस्टले एक जेनेरल प्राक्टिस्नरबाट रिफरल पाएको आधारमा बिरामीले प्रयोग गरेको घरेलु औषधिको समीक्षा पनि गर्न सक्छन्।"

फार्मसिस्टहरूले रगतमा ग्लुकोजको मात्रा र रक्तचाप परीक्षण गर्न सक्छन्। त्यस्तै एनीमिया परीक्षण र मधुमेह स्क्रिनिङ सहित केही निश्चित स्वास्थ्य परीक्षणहरू पनि प्रदान गर्न सक्छन्।

केही राज्य र प्रदेशहरूमा, फार्मसिस्टहरूलाई कोभिड-१९ र इन्फ्लुएन्जा जस्ता खोपहरू लगाउन सक्ने अधिकार दिइएको छ।

साथै डाक्टरकोमा जानु पर्ने आवश्यकता बिना नै प्रेसक्रिप्सन लिएर मात्र दिइने औषधि- जस्तै मौखिक गर्भ निरोधक चक्की पनि फार्मसिस्टले नै वितरण गर्न सक्छन्।

यदि तपाईँलाई उच्च रक्तचाप जस्ता दीर्घकालीन स्वास्थ्य अवस्था छन् भने, तपाईँको डाक्टरले दोहोर्‍याएर ती औषधिहरू वितरण गर्न अनुमति दिने प्रेसक्रिप्सन दिन सक्छन्, योङ ह्वी बुझाउँछिन्।
 
कुनै औषधि सजिलै उपलब्ध नहुने वा विशेष प्रयोगको लागि आवश्यक हुने हुन्छन्, त्यस्तो अवस्थामा एन्ड्रुको जस्तो केही फार्मेसीहरूले त्यो औषधिको मिश्रण बनाउन सक्छन्।

Pharmacy
Inside a compounding pharmacy Credit: Tom Andrew

आफ्नो बिरामी बच्चा वा तपाईँको आफ्नै दीर्घकालीन स्वास्थ्य अवस्थाको बारेमा चिन्तित हुनुहुन्छ भने, एउटै फार्मेसीमा जानु र फार्मसिस्टलाई चिन्नु तपाईँ र तपाईँको परिवारको स्वास्थ्य सेवा प्राप्त गर्ने कार्यमा सहयोगी हुन सक्छ।

लिना मन्सूर भन्छिन् सामुदायिक फार्मसिस्टको रूपमा काम गरेर मानिसहरूको जीवनमा फरक ल्याउन पाउँदा सन्तुष्टिको अनुभव हुन्छ।

तपाईं बस्ने ठाउँमा रहेका फार्मेसीहरू बारे थाहा पाउन यहाँ जानुहोस्:

तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई मा इमेल पठाउनु होस्

Share