अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूको संसर्गमा आएकाहरूको पहिचान गरी उनीहरूलाई यथाशीघ्र सम्पर्क गर्न सजिलो होस भनेर, हाल अस्ट्रेलियाका सबै राज्य तथा प्रादेशिक सरकारहरूले क्युआर कोड चेक इन व्यवस्था सुरू गरेका छन्।
विशेषत: कुनै व्यवसाय वा सार्वजनिक स्थल प्रवेश गर्दा - क्युआर कोड स्क्यान गरेर मानिसहरूले आफ्नो विवरण सहित दर्ता गर्नुपर्ने हुन्छ।
मेलबर्न, सिड्नी र पछिल्लो समयमा आएर क्विन्सल्यान्डको राजधानी ब्रिसबेन लगायतका शहरहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुँदा 'क्युआर कोड चेक इन' प्रणालीको महत्त्व थप बढेको सरकारी भनाई छ।
तर उक्त प्रणालीको प्रयोग नगरेको भेटिएका केही व्यापार व्यवसायहरूलाई सरकारी चेतावनीहरू प्राप्त भएका छन् भने अन्य केहीलाई दण्डित समेत गरिएको छ।
यसै क्रममा भिक्टोरियाली सरकारको क्युआर कोड चेक इन प्रणाली नभएको भन्दै मेलबर्नको एसेन्डन् स्थित एक हस्पिट्यालिटी सेवा प्रदायक र मेलबर्नकै क्याम्बेलफिल्डमा रहेको एक खुद्रा व्यापारलाई १,६५२ डलरको जरिवाना सम्बन्धी पुर्जी थमाइएको छ।
तर केही व्यवसायहरूको उक्त प्रणाली अनिवार्य रहेको बारेमा आफूहरूलाई जानकारी पछि मात्र प्राप्त भएको भनाई छ।
मेलबर्न स्थित कोबर्गमा एक नेपाली किराना पसलमा कार्यरत रसिना सिम्खडा पहिले आफूहरूले पनि क्युआर कोड राख्नुपर्छ भन्ने थाहा नभएको बताउँछिन्।

Source: AAP
उनको अनुसार भिक्टोरियाली अधिकारीहरूले कोबर्गभरका पसलहरूमा उक्त प्रणालीको खासै प्रयोग नभएको भेटेपछि भने आफू लगायत अन्य सबै व्यवसायीहरूलाई क्युआर कोड चेक इन प्रणालीका बारेमा बुझाउँदै सचेत गराएका थिए।
"वहाँहरू (भिक्टोरियाली अधिकारीहरू) आएर कुराकानी भएपछि भने हामीले पनि (नियमपूर्वक) क्युआर कोड राखेका छौँ," सिम्खडाले एसबीएस नेपालीलाई भनिन्।
तर स्क्यान गरेर चेक इन गर्न तयारी अवस्थामा क्युआर कोड राखेता पनि ग्राहकहरूलाई त्यसबारे भनिरहनु पर्ने उनको गुनासो छ।
"नेपालीहरूको बानी भन्नै पर्दैन नि, उहाँहरूलाई स्क्यान गर्नै पर्छ भनेर सम्झाउनुपर्छ।"
उता सिड्नीको रक्डेलका एक नेपाली पसल सञ्चालक दिवस सापकोटाको पनि त्यस्तै अनुभव छ।
सापकोटाका अनुसार उनको पसलमा आउने कुल ग्राहकहरूको २० देखि ३० प्रतिशतले स्वस्फुर्त रूपमा क्युआर कोड स्क्यान गरेर चेक इन गर्ने गरेता पनि अन्यको हकमा भने सम्झाउनु नै पर्छ।
"स्क्यान गर्नुपर्छ र (क्युआर कोड) यहाँ छ गर्नुहोस् भनेर मैले अलिकति फोर्स पनि गर्छु," उनले भने।

Source: SBS NEPALI/Krishna Pokhrel
"अब कोही-कोहीले चाहिँ अलिकति इग्नोर गर्नुहुन्छ...मैल सिकाएर पनि (स्क्यान) गर्न बाध्य बनाएको छु।"
तर त्यसतो अनुभव सबैको रहेको छैन।
मेलबर्नमा एक रेस्टुरेन्ट व्यवसायी दीपक परियार भने आफूकहाँ आउने ग्राहक तथा डेलिभरी सेवाका चालकहरूलाई खासै भनिरहनु नपरेकोमा सन्तुष्टि व्यक्त गर्छन्।
परियार भन्छन् कि रेस्टुरेन्ट, क्याफे लगायतका अन्य हस्पिट्यालिटी व्यवसायहरूले भिक्टोरियामा निकै लामो समयसम्म आफ्नो ढोका बन्द राख्नुपरेकाले र अन्य खुद्रा पसलहरूको तुलनामा केही समय अगाडीदेखि नै क्युआर कोड चेक इन प्रणाली कडा रूपमा लागू गरेका भएर पनि आफूहरूका आउने ग्राहकहरू प्राय यसबारेमा अभ्यस्त भइसेका छन्।
"पहिले त हामी निकै लामो समय बन्द भयौँ र यसले गर्दा फेरी बन्दबाट कसरी जोगिने भन्दै मानिसहरूलाई क्युआर कोड मार्फत चेक इन गर्न प्रोत्साहन गरिरह्यौँ," उनले भने।
"फेरी पनि बन्द भइयो तर हामीकहाँ आउने सबैजसो (क्युआर कोड) स्क्यान गरेरै भित्र छिर्नुहुन्छ।"
तर परियार पनि सिम्खडाको भनाईसँग सहमत देखिन्छन्।
उनी भन्छन् कि केही नेपालीहरू भने सिधै (रेस्टुरेन्ट) छिर्छन्।
र, त्यस्तो बेलामा चाहिँ टेबुलमा पनि उपलब्ध क्युआर कोड स्क्यान गराउने गरेको रेस्टुरेन्ट व्यवसायी दीपक परियारको भनाई छ।
हर्स्टभील निवासी सिरिसा ताम्राकार भने चेक इन अनिवार्य भनेर लेखिएको पसलहरू प्रवेश गर्दा क्युआर कोड मार्फत आफूले चेक इन गर्ने गरेको बताउँछिन्।

Source: SBS NEPALI/Krishna Pokhrel
तर उनले सधैँ सबै स्थानहरूमा भने चेक इन नगर्ने उल्लेख गरिन्।
"अरू बेला त यादै हुँदैन; पसल भित्र छिरेर सपिङ गरिन्छ," ताम्राकारले एसबीएस नेपालीसँग भनिन्।
"पसलमा (क्युआर कोड) टाँङ्गी रहेको त हुन्छ तर त्यसमा ध्यानै जाँदैन। फेरी कम्पल्सरी छ चाहिँ (कोही-कोहीले) भन्दा नि भन्दैन, अनि ध्यान पनि जाँदैन।"
सिड्नीकै अर्को एक पसलमा काम गर्ने दिपम चित्रकार भने मानिसहरू व्यस्त हुने र पसलमा छिरेर आवश्यक वस्तु किनेर हिँडी हाल्ने भएकाले पनि क्युआर कोड प्रयोग गर्न अलि प्रयास नगर्ने आफ्नो अनुभव बाँड्छन्।
उनका अनुसार क्युआर कोड प्रयोग गर्न प्राय सबैलाई अनुरोध गर्नै पर्छ।
"हामी पनि केही सामान किन्न कहीँ गयौँ भने हतारमा हुन्छौँ र कसैले सम्झाइदिनुपर्छ, यहाँ पनि त्यही नै हो," चित्रकारले भने।
"नर्मली (ग्राहक) नेपाली दाजुभाइहरू हुनुहुन्छ...कतिपय त चिनजानकै हुनुहुन्छ (त्यही भएर पनि क्युआर कोड स्क्यान गर्न) भनी हालिँदैन। हाम्रो पनि गल्ती छ।"
रसिना सिम्खडा नेपाली बाहेकका स्थानीय "अजी"हरू भने यसबारेमा सचेत रहेको पनि बताउँछिन्।
"अस्ट्रेलियनहरू पसल छिर्दै स्क्यान गरेर आउनुहुन्छ," सिम्खडाले भनिन्।
दिपम चित्रकारको पनि यस्तै अनुभव रहेको छ।
उनी भन्छन् कि स्थानीय अस्ट्रेलियालीहरू पसलमा आउँदा क्युआर कोड कहाँ छ भनेर सोधिरहेकै हुन्छन्।

Source: SBS NEPALI/Krishna Pokhrel
चेक इन कोड बाहेक उनीहरूले मास्क लाउनुपर्छ कि पर्दैन वा ह्यान्ड स्यानिटाइजर छ कि छैन भनेर पनि सोधखोज गर्ने चित्रकारको भनाई छ।
कारबाही हुने सरकारी चेतावनी
सिड्नीको बोन्डाइ क्लस्टरमा एकाएक सङ्क्रमितको सङ्ख्या बढेपछि न्यु साउथ वेल्स राज्य सरकारले सम्पूर्ण खुद्रा पसलहरू तथा क्याफे, रेस्टुरेन्ट र पब लगायतका हस्पिट्यालिटी सेवा प्रदायकहरूकहाँ जाँदा अनिवार्य रूपमा क्युआर कोड मार्फत चेक इन गर्नुपर्ने निर्णय गरेको छ।
राज्यका स्वास्थ्य मन्त्री ब्राड हाजर्ड भन्छन् कि सहरका विभिन्न स्थानहरूमा क्युआर कोड प्रयोग गरेर चेक इन गर्न सिड्नीवासीहरू उदासीन रहेको उनले पाएका छन्।
"हामीलाई थाहा नै छ कि हस्पिट्यालिटी स्थानहरूमा क्युआर कोडहरूको प्रयोग विगत केही समय यतादेखि अनिवार्य गरिएको छ," हाजार्डले मङ्गलवार सिड्नीमा आयोजित कोभिड-१९ अपडेट पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने।

Source: AAP Image/Joel Carrett
"म के कुरामा जोड दिन चाहन्छु भने, मानिसहरूले ती क्युआर कोड प्रयोग गर्नै पर्छ।"
साथै उनले केही रेस्टुरेन्ट तथा क्याफेहरूले आफ्ना ग्राहकलाई क्युआर कोड प्रयोग गर्नुपर्ने बारे केही नबताएकोमा पनि रोष व्यक्त गरेका छन्।
स्वास्थ्य मन्त्री हाजार्डले पसलहरूमा अधिकारीहरूले बिना पूर्व सूचना नै आएर त्यहाँ आएका ग्राहकहरूबारे पुछताछ गर्न सक्ने पनि चेतावनी दिए।
"हामीलाई त्यो जानकारी चाहिन्छ। न्यु साउथ वेल्स हेल्थका (कन्ट्याक्ट) ट्रेसरहरूलाई त्यो जानकारी चाहिन्छ," उनले भने।
उता एक पटक चेतावनी पाइसकेका मेलबर्नका पसलहरू भने क्युआर कोड प्रयोग गर्न असमर्थ ग्राहकहरूको विवरण हातैले पनि राख्ने गर्न थालेका छन्।

Source: Facebook
सिम्खडा भन्छिन् कि कसै कसैले फोन बिर्सिएको भन्दै चेक इन गर्न आनाकानी गर्दा आफ्नै मोबाइल पनि प्रयोग गर्नुपरेको बताउँछिन्।
"हामीले अहिले त कलम र कापी पनि राखेका छौँ।"
चेक इनको उदासीनताकै बारेमा कुरा गर्दा मोर्टडेल निवासी रोमन झा भने अपवादका रूपमा भेटिए।
आफूले सधैँ 'लगइन' गर्ने गरेको उनले एसबीएस नेपालीलाई बताए।
"लग आउट चाहिँ (गर्न) बिर्सिन्छ तर (सर्भिस एनएसडब्लु एपको)एउटा राम्रो पक्ष चाहिँ के छ भन्दा खेरी रिमाइन्डर आउँदो रहिछ...अनि लग आउट गर्छु म।"