शिर्षकहरू:
- विवादमा उपसभामुख
- ओलीले पाए दुई तिहाइ विश्वासको मत
- सहमति सार्वजनिक
- सीमा बारे प्रश्न
- पेरिस ओलम्पिक्समा सात खेलाडी
- एसिया कप
विवादमा उपसभामुख
उपसभामुख इन्दिरा रानाले उनको कार्यालयको लेटरप्याड दुरुपयोग गरेर अमेरिकी दूतावासमा लेखेको एक पत्रका कारण विवादमा परेकी छन्।
उनले सन् २०२३को फेब्रुअरी २६मा उपसभामुखको लेटर प्याडमा केही व्यक्तिको भिसाको मिति सारिदिन काठमान्डु स्थित अमेरिकन दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा परेकी हुन्।
उक्त पत्रमा नाम उल्लेख भएका व्यक्ति न्यु योर्क स्थित संयुक्त राष्ट्र सङ्घको संयन्त्रको १६औँ सत्रमा सहभागी हुने भएकाले भिसाको मिति सारी दिन अनुरोध गरिएको छ ।
यस विषयमा सदनमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूको आरोप प्रत्यारोप चलेको थियो।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख आफ्नो क्षेत्राधिकार बाहिर गएको र पैसा लिएर सदनको मर्यादाको समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए।
तर माओवादीका सांसद माधव सापकोटाले भने संवैधानिक परिषद्मा अल्पमतमा परेपछि सरकार पक्षले सो विवाद झिकेको भन्दै उल्टै सत्तापक्ष प्रति औंला ठडाएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि यस विषयमा सदनमा आफ्नो धारणा राखेकी थिइन्।
उनले भनिन्, “यदि आचरणको कुरा गर्ने हो भने सबैको लेटरप्याडबाट के के निस्केको छ हेरौँ र साँच्चै पद्धति बनाऊँ। तपाईँहरूलाई मन लाग्यो मिडिया ट्रायल गर्यो। मानव तस्करी जस्तो ठुलो आरोप यस्तो सजिलोसँग डिक्लेयर गर्नुभयो।”
डिक्लेयर गर्नु न त भुटानी शरणार्थी प्रकरण कसले गरेको हो? त्यो आँट छ?'सुमना श्रेष्ठ
आफूमाथि प्रश्न उठेपछि उपसभामुख रानाले विज्ञप्ति जारी गरी गरेकी छन्।
जसमा उनले पदीय दुरुपयोग नगरेको दाबी गरेकी छन्।
ओलीले पाए दुई तिहाइ विश्वासको मत
The newly appointed Nepali Prime Minister, Khadga Prasad Sharma Oli, also known as KP Oli, delivers a speech while asking for the vote of confidence in parliament. Source: SIPA USA / Abhishek Maharjan/Abhishek Maharjan/Sipa USA
केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ समर्थन पाएका छन्।
नेकपा माओवादीसँगको सहकार्य अचानक तोडेर नेपाली काँग्रेससँगको सहकार्यमा सरकार बनाएका ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्।
उनी असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
यसरी नियुक्त भएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनु पर्ने कानूनी प्रावधान रहेको छ।
सम्बन्धित सामाग्री
केपी शर्मा ओली बने चौथो पटक नेपालको प्रधानमन्त्री: गत सात दिन नेपालमा
ओलीलाई उनको दल नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले मत दिए।
२७५ सांसद रहेको सदनबाट ओलीलाई सरकार बनाउनका लागि १३८ सांसदको समर्थन भए पुग्थ्यो। दुई तिहाइका लागि १८४ मतको आवश्यकता पर्छ।
ओलीले १८८ मत ल्याएका हुन्। मतदानका लागि २६३ सांसद उपस्थित रहेका थिए।
सहमति सार्वजनिक
दुई ठुला दलबिच सहमति भएर सरकार बने पनि सहमतिमा रहेका प्रावधानहरू भने दुवै दलले सार्वजनिक गरेका थिएनन्।
सरकार नै परिवर्तन हुने गरि भएको सहमतिका विवरण गोप्य राखेको विषय प्रति विभिन्न दलका नेताहरूले आपत्ति जनाउँदै आएका थिए।
यस्तै सहमति गरेका दुई दलका कार्यकर्ताहरूले पनि यस विषयमा प्रश्न उठाएका थिए।
विशेष गरी नेपाली काँग्रेसका कार्यकर्ता माझ आफ्नो समयावधि सकिएपछि ओलीले सहजै सरकार छोड्लान् र भन्ने विषयले निकै चर्चा पाएको थियो।
अन्ततः दुई दलबिच भएको सहमति सार्वजनिक भएको छ।
आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत माग्दै गर्दा प्रधानमन्त्री ओलीले सो सहमति पढेर सुनाएका हुन्।
''आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने । राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरि राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तद्नुकुलको कानून निर्माणलाई प्राथमिकता दिने,'' सहमति वाचन गर्दै ओलीले भने।
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने निर्वाचनसम्म नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने।केपी ओली
उक्त सात बुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुसार प्रदेश सरकार गठन र सञ्चालन गर्ने लगायतका विषयहरू समेटिएका छन्।
सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले देशमा देखिएको आर्थिक समस्या समाधान गर्न नयाँ गठबन्धन गरेको बताए।
(FILE) - Nepal's prime minister party Sher Bahadur Deuba waves to reporters) in Kathmandu, Nepal. Source: EPA
संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूको समर्थन लिइने जानकारी सदनमा दिए।
नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले चाहिँ ओली सरकारलाई समर्थन गरेन।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीले सत्ता परिवर्तन गरेर धोका दिएको आरोप लगाए।
''देश र जनताको अग्रगमन संवृद्धि सम्बन्धी विषयमा छलफल गर्नु पर्ने सदनमा आज पनि प्रधानमन्त्रीले विश्वासको मत राख्नु भएको छ। पछिल्लो आम निर्वाचन यताको डेढ वर्षमा विश्वासको मतका लागि भएको यो छैटौँ छलफल हो, '' नेता नेपालले भने।
''स्वर्ग नर्क जहाँ गए पनि सँगै जाने भुलभुलैया सृजना गरेर अघिल्लो साँझसम्म ओत लागेको गठबन्धन सरकार भोलिपल्टको मिरमिरे अगावै ढालेर पिटिएको डङ्का बारेको बहस यहाँ पक्कै पनि हुने नै छ।''
नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले चाहिँ साना दलहरूका कारण र समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता आयो भन्ने कुरामा आपत्ति जनाए।
उनले ओलीले सदनमा प्रस्तुत गरेको आर्थिक तथ्याङ्क प्रति पनि विमति जनाए।
सीमा बारे प्रश्न
प्रधानमन्त्री भएयता पहिलो पटक सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ रहेको सदनमा जानकारी दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले यी भूभाग नेपालको नक्सामा समेटिएको भए पनि भोग गर्न नपाएको भनी प्रधानमन्त्री समक्ष गरेको जिज्ञासाको उत्तर दिने क्रममा ओलीले यस्तो बताएका हुन्।
''काली अर्थात् महाकाली बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट गरेको छ,'' ओलीले भने।
पेरिस ओलम्पिक्समा सात खेलाडी
The Olympic Rings displayed on the Eiffel Tower in Paris ahead of this year's Olympic Games (AAP) Source: AP / David J. Phillip/AP
जुलाई २६ देखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुने ग्रीष्मकालीन ओलम्पिकमा नेपालबाट सात खेलाडी प्रतिस्पर्धा गर्दै छन्।
एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङबाट सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ छन्। यस्तै पौडीबाट डुवान लामा र एलेक्जेन्डर शाह रहेका छन्।
जसमध्ये टेबल टेनिसका स्यान्टु श्रेष्ठले छनोट प्रतियोगिता पार गरी आफ्नो स्थान सुरक्षित बनाएका हुन्। उनी तेक्वान्दोका खेलाडी संगिना वैद्य र दीपक विष्ट पछि ओलम्पिकमा सिधै छनोट हुने तेस्रो नेपाली खेलाडी हुन्।
अन्य खेलाडीले भने वाइल्ड कार्ड पाएका हुन्। यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पिकमा सहभागी हुने खेलाडीलाई शुक्रवार एक समारोहबिच बिदाइ गरेका छन्।
एसिया कप
महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।
युएई विरुद्धको खेलमा सानदार जितका साथ एसिया कप सुरु गरेको नेपालले आइबतार भएको दोस्रो खेलमा हारेको हो।
पाकिस्तान विरुद्धको खेलमा बेहोरेको हारका कारण भारत, पाकिस्तान र युएईसँगै समूह 'ए' मा रहेको नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न कठिन हुने देखिएको छ।
सम्बन्धित सामाग्री
नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती छन्?
नेपालले अर्को खेल भारतसँग खेल्ने छ।
चार अङ्क सहित भारत समूहको शीर्ष स्थानमा छ।
यस्तै समान दुई अङ्क सहित नेपाल र पाकिस्तान दोस्रो स्थानमा रहेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।