सन् २०१४ मा अस्ट्रेलियामा इन्भाइरोमेन्टल इन्जिनियरिङ पढ्न आएका अभिषेक सिवाकोटीले मास्टर्सको पढाइ सकाएपछि यस क्षेत्रमा काम पाउन गाह्रो देखेर आफ्नो करिअरलाई नै परिवर्तन गर्ने सोच बनाएका थिए।
"मेरो चाहिँ अन्डरग्राड र मास्टर्स दुवै इञ्जिनियरिङमा हो... अहिले चाहिँ २०२१ बाट मास्टर्स अफ नर्सिङ साइन्समा मैले स्विच गरेको छु।"
यस क्षेत्रमा पुरा नहुने आस लिएर बसिरहनु भन्दा अवसरहरू प्रशस्त देखेर उनले नर्सिङको पढाइ सुरु गरेको बताए।
सम्बन्धित सामाग्री
इञ्जिनियरिङ क्षेत्रमा कामको अवसर नपाउँदा करिअर नै परिवर्तन
अभिषेक सिवाकोटी जस्तै इन्जिनियरिङ क्षेत्रमा कामको अवसर नपाउनेहरू छन् भन्ने कुरालाई नकार्न नसकिए पनि यसै क्षेत्रमा काम गरेर राम्रो स्थान बनाइसकेका नेपालीहरूको पनि कमी छैन।
मेलबर्नका इलेक्ट्रिकल इन्जिनियर अनुप राना आफू कार्यरत डिस्ट्रीब्युसन डिजाइनतर्फ धेरै अवसरहरू रहेको बताउँछन्।
लगभग १० वर्ष यहीँ क्षेत्रमा काम गरेको अनुभव बोकेका उनका लागि अस्ट्रेलियाको सहरी आवासीय विकास (युआरडी) अन्तर्गत अन्डरग्राउन्ड प्रणालीको काम सिकाइ महत्त्वपूर्ण रहेको छ।
नेपालमा नै पनि दुर्गम स्थानहरूमा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरिसकेका अनुपले आफ्नो दक्षता जाँच वा स्किल एसेस प्रक्रिया नेपालबाटै गरेर आएका थिए र साथमा अस्ट्रेलियाको स्थायी भिसा पनि थियो।
तर अस्ट्रेलियामा काम गरेको अनुभव नभएका कारण सुरुवाती दिनका ३ महिना जति कामको खोजीमा बितेको याद छ।
Source: Getty / Getty Images
सीभीहरू पठाएर अप्लाइ गर्यो प्रायजसो रिप्लाई आउँदैन थियो। रिप्लाई आए पनि लोकल अनुभव भएन भन्ने आउँथ्यो।अनुप राना
बिधान अधिकारीलाई नेपालमा लिएको अनुभवले अस्ट्रेलिया आए पछि पनि विद्यार्थी जीवन देखि नै सूचना प्रविधि (आइटी)को क्षेत्रमा प्रवेश सम्भव गरायो।
लगभग बाह्र वर्ष अगाडी देखि प्रोग्रामिङ देखि क्लाउड कम्प्युटिङसम्मको यात्रा तय गरेका अधिकारी पनि सुरुवातमा काम नपाउने कुरा सबैमा लागु भए पनि काम गर्ने लक्षलाई नछोडी निरन्तर लागे सफलता पाउने विश्वास व्यक्त गर्छन्।
"अप्लाइ त गरी राख्नु पर्यो, जस्तै स्थानीय अनुभवको कुराले अथवा यहाँको पढिरहेको कुराहरूले वा भिसाको कुराहरूले गर्दाखेरि रिजेक्सन त भई हाल्छ।"
रानाको लागि सोही क्षेत्रमा काम गर्नेहरू सँगको चिनजानले बजारमा इलेक्ट्रिकल इन्जिनियरहरूको माग हुने स्थानहरूका बारेमा जान्न मदत पुर्यायो।
"दुई जना हुनुहुन्थ्यो उहाँहरूसँग नम्बर पनि साटासाट भयो साथै केही जानकारीहरू पनि दिनु भयो डिजाइन सेवा प्रदायकहरूको बारेमा।"
र त्यो जानकारी दिने मध्येका एक थिए जोग लिम्बु।
तीन दशकभन्दा बढी समय इलेक्ट्रिकल इन्जिनियरका रूपमा न्यु जिल्यान्ड र अस्ट्रेलियामा काम गरिसकेका जोग लिम्बु यस क्षेत्रमा काम पाउन नेटवर्किङको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्छन्।
"संस्थाहरूमा पहिले देखि नै काम गरेकाहरूले कामको अनुभव दिलाउन लग्न सक्छन्, उनीहरूलाई अप्रोच गर्नु पर्यो र त्यो नेटवर्किङबाट नै आउँछ।"
नयाँ आउने इन्जिनियरहरूलाई मार्ग निर्देश गर्ने कार्यमा जोग लिम्बु लगायत केही इन्जिनियरहरूको समूह भिक्टोरियामा सक्रिय रहेका छन्।
सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन भिक्टोरिया नामको सो समूहमा धेरै विधाका इन्जिनियरहरूको उपस्थिति हुने र एक अर्काको अनुभव साटासाट गर्ने हुनाले नयाँ आउनेहरूलाई त्यसले नेटवर्किङको सुरुवात गर्ने जोग लिम्बु बताउँछन्।
अनुप रानाले अंग्रेजी परिपुरक कोर्स गरेपछि काम अनुभवका लागि विभिन्न उद्योगहरूमा प्लेसमेन्ट गर्नेबारे थाहा पाए पछि सो पढाइ गर्न थालेको बताए।
र प्लेसमेन्टका लागि अनुभवी इन्जिनियरहरूले दिएका केही सेवा प्रदायकहरूको नामहरू अगाडी सारे।
सुरुवातमा आफूले काम गर्ने स्थानमा बहुसांस्कृतिक पृष्ठभूमिका सहकर्मीहरू भएकाले उनले बिस्तारै अस्ट्रेलियाको कार्य संस्कृतिबारे थाहा पाउन थालेको अनुपको अनुभव छ।
तर डिजाइन र डिस्ट्रिब्युसन क्षेत्रमा नेपालीहरूको उपस्थिति भने अझै पनि कम रहेको उनको भनाइ छ।
"सबै डिजाइनरहरू युटिलिटीमा काम गरेको छ भने उनीहरूको डिजाइन हाम्रोमा आउँछ, र पाँच जना नेपाली थाहा छ मलाई भिक्टोरिया भरि।"
यो क्षेत्रमा प्रशस्त कामको अवसर रहेको बताउने रानाले अस्ट्रेलियामा रहेका नेपालीहरूमा आफ्नो क्षेत्रमा काम गर्ने उत्साह देखिए पनि केहीले भने काम पाउन गाह्रो भएपछि अर्को क्षेत्रमा करिअर बनाउने गरेको पाएका छन्।
उता जोग लिम्बुले पनि जतिले आफ्नो क्षेत्रमा काम गरेका छन् उनीहरूको प्रगति निकै राम्रो पाएका छन्।
"राम्रो राम्रो पोजिसनहरूमा पुगेका छन्, जस्तै सिटी काउन्सिलहरूमा। धेरै चाहिँ सिभिल इन्जिनियरहरूले काम पाएको देखिन्छ। पहिले काम सुरु ग्रामिण क्षेत्रहरूबाट गर्छन् त्यहाँबाट अनुभव लिए पछि बिस्तारै सिटीमा आउँछन्।"
न्यु साउथ वेल्सको ४ वटा काउन्सिलहरूमा काम गरिसकेका सन्दीप चन्द अहिले विन्जीक्यारेबी काउन्सिल मोसभेलमा सिभिल इन्जिनियरका रूपमा कार्यरत छन्।
Source: Supplied / Sandeep Chand
"इञ्जिनियरिङ्गको आधारभूत कुराहरू त एउटै हो, तर अस्ट्रेलियामा कामको प्रक्रियाहरू, यहाँको मापदण्डहरू, कानुनहरू र कस्टमरसँग गर्ने व्यवहारहरू विल्कुल फरक छ।"
चन्द पनि जोग लिम्बुको जस्तै नेटवर्किङले रोजगारी अवसरका बारेमा जानकारी पाउन धेरै मदत गरेको बताउँछन्। युनिभर्सिटिमा आफू भन्दा पहिले पढेका र सहपाठीहरूसँग निरन्तर सम्पर्कमा बस्दा अस्ट्रेलियामा सिभिल इन्जिनियरिङ क्षेत्रको अवस्थाबारे बुझ्न मदत पुगेको उनको भनाइ छ।
आफूले करिअरको सुरुवात गर्दा अस्ट्रेलियामा जनशक्ति बढी भए पनि काम सीमित हुने परिस्थिति भन्दा फरक अहिले सिभिल इन्जिनियरहरूको माग धेरै भएको तर जनशक्तिको कमी भएको बताउँछन्।
"हाम्रो एसियन समुदायका भाइ बहिनीहरूलाई एकदमै राम्रो अवसरहरू छ। स्थानीय सरकारमा छिर्न, निजी कम्पनीमा छिर्न र राज्य सरकारमा छिर्न।"
आफैले चिनेका कति पयले पढाइ सकाउने बित्तिकै अस्थायी भिसामा भए पनि स्थानीय काउन्सिलहरूमा काम पाएको देखेको उनले बताए।
निरन्तरको प्रयासले लक्षमा पुग्न मदत गरेको मत राख्ने जोग लिम्बु, अनुप राना र सन्दीप चन्द जस्तै बिधान अधिकारी पनि सूचना प्रविधिको क्षेत्रमा सिकाइ कहिले नसकिने भन्दै आफूलाई समयको माग अनुसार जानकार राख्न जरुरी हुने बताउँछन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।