हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
पुष्पाले जितिन् ढाकामा म्याराथन
बङ्गलादेशको राजधानी ढाकामा भएको वङ्गबन्धु शेख मुजीवर ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छन्। शुक्रवार सम्पन्न भएको म्याराथन अन्तर्गतको दक्षिण एसियाली प्रतिस्पर्धा २ घण्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै पुष्पाले स्वर्ण पदक हात पारेकी हुन्। यससँगै पुष्पाले आफ्नै कीर्तिमानलाई सुधारेकी छन्। उनले सन् २०१९मा नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा बनाएको २ घण्टा ५० मिनेट ११ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई २ मिनेट ९ सेकेन्डले सुधार गरेकी हुन्। नवौँ राष्ट्रिय खेलकुदमा म्याराथनमा भाग लिएकी पुष्पाले चोटका कारण बिचैमा छोडेकी थिइन् र उक्त घटनाको चार महिनापछि उनले यो सफलता हात पारेकी हुन्।
ढाकामा भएको उक्त म्याराथनमा श्रीलङ्काकी मधुमाला परेरा दोस्रो भइन भने नेपालकी बिन्द्रा धान तेस्रो भइन्। उपाधि हात पारेकी पुष्पाले पाँच लाख टाका पुरस्कार पाइन्। यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा नेपालका गोपीचन्द्र पार्की तेस्रो भए।
मन्त्रीमण्डल विस्तार
प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार मन्त्रीमण्डल विस्तार गरेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीहरू थपिएका हुन्।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री, ध्रुवबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री नियुक्त भएका हुन्।
यस्तै नेकपा एमालेबाट हरि उप्रेती रक्षा मन्त्री, विमला राई पौडेल परराष्ट्र मन्त्री, पदम गिरी स्वास्थ्य मन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य एवं आपूर्ति मन्त्री, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री नियुक्त भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका हुन्।
मन्त्रालयमा पद बहाल गरेपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री पौडेलले भनिन्, "नेपालको परराष्ट्र नीति भनेको असंलग्न नीति हो र हामीले त्यसैलाई नै अगाडी बढाउने हो।"
कम्युनिस्टहरू एकै केन्द्र बन्नु पर्ने प्रधानमन्त्रीको भनाई
नेपालका कम्युनिस्टहरूको एकै केन्द्र बनाउन आवश्यक रहेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँगको भेटघाटमा प्रधानमन्त्रीले उक्त कुरा राखेका हुन्।
शुक्रवार सिंहदरबारमा भएको भेटमा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीलाई राष्ट्रियता, जनतन्त्र, जनजीविका आदीसँग सम्बन्धी विभिन्न मागहरू सहितको ज्ञापन पत्र बुझाएका थिए।
उक्त ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भने, "नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस चलिरहेको छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबिच अहिले यस विषयमा छलफल सुरु भएको छ। तपाईँहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।"
त्यसमा नेकपा बहुमतको रचनात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए। त्यसो त सरकारलाई समर्थन दिएको नेकपा एकीकृत समाजवादी दलले पनि बाम एकताका लागि एक कार्यदल बनाएको छ।
गृह मन्त्रालयको विज्ञप्ति प्रति सांसदको आपत्ति
एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरीलाई लेखेको पत्र सार्वजनिक गरेको प्रति नेपाली काँग्रेसका सांसदले आपत्ति जनाएका छन्।
गृह मन्त्रालयले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै पटक पटक ध्यानाकर्षण गर्दा पनि प्रहरीले महोत्तरीबाट निर्वाचित सांसद महतोलाई पक्राउन नगरेको भन्दै ध्यानाकर्षण जनाएको थियो।
उक्त विषयलाई लिएर सांसद रामहरि खतिवडाले शनिवार बसेको प्रतिनिधिसभाको बैठकमा आपत्ति जनाए र प्रहरी प्रशासनले गृह मन्त्रीलाई टेर्न छोडेको हो भन्दै प्रश्न समेत गरे।
'सभामुख महोदय नेपालको इतिहासमा अपराधीलाई विज्ञप्ति निकाल्दै खोज्ने परिपाटिको सुरुवात भएको छ। यो परिपाटिको विकास भयो भने मुलुक कहाँ जाने हो सभामुख महोदय?'सांसद रामहरि खतिवडा
यस्तै मन्त्रालयले प्रहरीलाई लेखेको पत्रबारे सार्वजनिक विज्ञप्ति जारी गर्दा गोपनीयताको हकको उलङ्घन भएको पनि उनले जिकिर गरे।
प्रतिनिधिसभाले पायो सभामुख र उपसभामुख
यो साता सङ्घीय संसद्को प्रतिनिधिसभाले सभामुख र उपसभामुखको चयन गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासका पात्रका रूपमा चिनिने घिमिरेलाई सरकार गठबन्धनले सभामुखको उम्मेदवार बनाएको थियो।
त्यस्तै नेपाली काँग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको थियो।
जनआन्दोलन पछि पहिलो पटक सांसदहरूको मत विभाजनबाट सभामुख चयन गरिएको थियो।
घिमिरेलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए।
सभामुखको चयन अघि संसद्को ज्येष्ठ नागरिकको हैसियतले संसद् मिरे सभामुख भएको घोषणा गर्दै भने, "यस संसद्मा २६८ सांसदको उपस्थित रहेको र यस सभाका माननीय सदस्य देवराज घिमिरेलाई प्रतिनिधिसभाको सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७को बहुमत भएको छ र यो प्रस्ताव स्वीकृत गरिएको छ।"
प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दा घिमिरेले निष्पक्ष र तटस्थ भएर आफ्नो जिम्मेवारी निभाउने बताए।
शनिवार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरलाई उपसभामुख चयन गर्यो।
डा. रुइतलाई अन्तराष्ट्रिय पुरस्कार
वरिष्ठ चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्।
आँखाका डाक्टर रुइतलाई बहराइनका पूर्व राजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित पुरस्कार पाउने भएका हुन्।
उनलाई 'इसा अवार्ड फर सर्भिस टु ह्युम्यानटी' पुरस्कृत गरिने घोषणा मङ्गलवार गराएको हो।
उक्त संस्थाले सन् २०१३ यता हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई उक्त पुरस्कार दिँदै आएको छ।
मोतिया बिन्दुको उपचार गर्ने सरल विधि विकास गरेका डा. रुइतले नेपाल र अन्य मुलुकमा थुप्रै व्यक्तिको शल्यक्रिया गरेका छन्।
उनलाई फेब्रुअरीमा १० लाख नगद सहितको उक्त प्रतिष्ठित पुरस्कार हस्तान्तरण गरिने बताइएको छ।
उक्त पुरस्कारबारे सञ्चार कर्मीहरूसँग कुरा गर्दै अन्तर्राष्ट्रिय जगत्मा नेपालको आत्मसम्मान बढाउने डा. रुइतले बताए।
'म एकदमै खुसी छु। मैले एकोहोरो गरेको कामको अरूले पनि मूल्याङ्कन गर्दा रहेछन् भन्ने लाग्यो।'डा सन्दुक रुइत
केही समययता नयाँ राष्ट्रपति को बन्ने भन्ने विषयले सञ्चार माध्यममा निकै चर्चा पाइरहेको छ र थुप्रै नेपालीले डा. रुइत भावी राष्ट्रपतिको लागी उपयुक्त पात्र रहेको भन्दै आएका छन्।
यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पनि पाएको छ।
तर डा. रुइतले आफू राष्ट्रपतिको पदका लागि इच्छुक नरहेको बताए।
विमान दुर्घटना बारे छानबिन सुरु
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको दुई फरक फरक टोलीले छानबिन सुरु गरेको छ।
पूर्व पर्यटन सचिव नागेन्द्र घिमिरे संयोजक रहेको नेपाली टोलीसँगै जहाज निर्माता कम्पनीको टोली पनि जाँचबुझका लागि नेपाल आएको हो।
पोखरामा दुर्घटना भएको जहाज एटीआर ७२ हो। नेपालमा एटीआर ७२ विमान पहिलो पटक दुर्घटना भएको हो।
जहाज निर्माता फ्रान्सेली कम्पनी दुर्घटनाको कारण पत्ता लगाउन नेपाल आएको हो।
आइतबार काठमाण्डूबाट पोखराका लागि बिहान ९०. ३० मा उडेको विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोँचमा दुर्घटना भएको थियो। दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन।
मौसम सफा रहेको र अवतरणको समयमा कुनै समस्याबारे विमान चालक दलले कुनै जानकारी नगराएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूको भनाइ छ। यस्तो अवस्थामा विमान दुर्घटनाको कारणबारे सबैको चासो रहेको छ।
उक्त विमान अनुभवी एवं पाइलटहरूको प्रशिक्षण समेत दिने पाइलट कमल केसीले चलाएका थिए भने सह-चालीका अन्जु खतिवडा थिइन्।
७ वर्ष अघि जुम्लामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पति गुमाएपछि पाइलट कोर्स पढेर खतिवडा पनि यही पेसामा आएकी थिइन्।
विमानको ब्ल्याक बक्स प्राप्त गरिसकेको र त्यसको आधारमा पनि अध्ययन भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सदनमा बताए।
"उक्त विमान दुर्घटनामा पर्नुहुने नेपाली र विदेशी सबैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु।'नागरिक उड्डयन मन्त्री सुदन किराँती
उनले भने, 'विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन एक उच्च स्तरीय टोलीको गठन भई सकेको छ।'
यसैबिच शुक्रवार नेपालगन्ज विमानस्थलबाट काठमान्डुका लागी उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको थियो। भिजिबिलिटीको समस्याका कारण बिहान साढे ७ बजे तीर उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको काठमान्डु विमानस्थलले जनाएको छ।