पुरा रिपोर्ट सुन्नुहोस्: ![2021 in Nepal: Pandemic, politics and MCC debate image](https://images.sbs.com.au/dims4/default/cfba772/2147483647/strip/true/crop/4943x2780+0+251/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2F20210504001539642914-original.jpeg&imwidth=600)
LISTEN TO
![2021 in Nepal: Pandemic, politics and MCC debate image](https://images.sbs.com.au/dims4/default/cfba772/2147483647/strip/true/crop/4943x2780+0+251/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2F20210504001539642914-original.jpeg&imwidth=600)
नेपालमा सन् २०२१: कोरोनाभाइरस महामारी, राजनीतिक विवाद, खिचातानी र एमसीसीको वर्ष
SBS Nepali
26/12/202114:20
सुरु गरौँ अङ्ग्रेजी पात्रोको पहिलो महिना ज्यानुअरीबाट
- जुन बेला काठमान्डु विश्वकै सबभन्दा प्रदूषित नगर बनेको थियो। काठमान्डुको वायु गुणस्तर सूचकाङ्क ६०० पुगेको थियो जबकि यो अङ्क ३०० पुग्नुलाई विश्व स्वास्थ्य सङ्गठनले खतरनाक भनेको छ।
- जनवरीको अन्तिम हप्तामा नेपालमा पहिलो पटक कोरोना विरुद्धको खोप आइपुगेको थियो। भारतको अनुदानमा कोभिशिल्ड नामक खोपका १० लाख प्रति नेपालमा आई पुगेका थिए र नेपाल सरकारले जनवरी २७ देखि ७७ जिल्लामा एकै चोटि यो खोप लगाउन सुरु गरेको थियो। तत्कालीन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले त्यो बेला यसो भनेका थिए: "हामीले प्रथम चरणको, त्यो पनि अनुदानमा जुन खोप प्राप्त गरिरहेका छौँ, त्यसलाई हाम्रा प्रथम योद्धाहरूका लागि पुर्याउने हामी कोसिस गर्छौँ।"
- यसका साथै जनवरी महिनामा महामारीको करिब १० महिनापछि काठमान्डुका नाटकघरहरु खुलेका थिए।
वर्षको दोस्रो महिना फेब्रुअरीमा
- सरकारले ४० वर्ष भन्दा कम उमेरका महिलाले विदेशमा यात्रा गर्दा परिवार वा वडाको स्वीकृति लिनुपर्ने प्रस्ताव गरेपछि त्यसको धेरै विरोध भएको थियो। एक अभियानकर्मी भावना राउतको भनाई यस्तो थियो: "यसले भोलि कार्यान्वयनमा आएपछि विकराल रूप लिनेछ। अनि एकै देशमा बसेका दुई थरीका महिलालाई दुई थरी व्यवहार गर्न मेरो सरकारले चाहिँ पाउँदैन। मैले जुन अधिकार पाउँछु, दूर दराजका महिलाले पनि त्यही अधिकार पाउनुपर्छ।" त्यो प्रस्ताव र त्यस समयमा देशभर भएका बलात्कार र महिला हिंसाका घटनाको विरुद्ध काठमान्डुमा ठुलो सङ्ख्यामा मानिसहरू महिला मार्च भनिएको विरोध प्रदर्शनमा उत्रेका थिए।
- फेब्रुअरी महिनामै प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक विभिन्न संवैधानिक निकायहरूमा प्रमुख सहित ३० भन्दा बढी पदाधिकारीको नियुक्ति गरेपछि सभामुख अग्नि सापकोटाले त्यस विरुद्ध रिट निवेदन दर्ता गरेका थिए। अनि यसैको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले हडताल गरेको थियो।
- यसका साथै सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सन् २०२० डिसेम्बरको निर्णय बदर गरेको थियो र १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि भनेको थियो।
![people gather at kathmandu after supreme court decision to reject the decision to dissolve legislature](https://images.sbs.com.au/drupal/yourlanguage/public/podcast_images/ktm_julus_3.jpg?imwidth=1280)
Source: RSS Nepal
- मार्च महिनामा सर्वोच्च अदालतको निर्णय बमोजिम संसद् ब्युँतिँदै अधिवेशन पनि बसेको थियो भने ओली सरकार र नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहबिच तीन बुँदे सहमतिमा हस्ताक्षर पनि भएको थियो। विप्लव समूहले हिंसात्मक गतिविधि त्यागेर राजनीतिक तरिकाले अघि बढ्ने, सरकारले त्यो समूहमाथिको प्रतिबन्ध हटाउने सहमति गरिएको थियो। भूमिगत रहेका नेत्रविक्रम चन्दले सार्वजनिक भएपछि आयोजित एक कार्यक्रममा भने, "तीन बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध छ। यसलाई हामी पालना गर्छौँ। यसलाई हामी दृढतापूर्वक भन्छौँ – यहाँ कसैले पनि कहीँबाट पनि आशङ्का या विभिन्न ढङ्गले यसलाई उत्तेजना या अर्को ढङ्गले कुतर्क गर्नु जरुरी छैन।"
- अनि करिब तीन दशकदेखि मेलम्चीको पानी काठमान्डु ल्याउने योजनाले मूर्तरूप पाएको पनि मार्च महिना नै हो।
![PM Oli and others inspecting Melamchi river water canal](https://images.sbs.com.au/drupal/yourlanguage/public/pm_and_others_observing_melamchi_waters.jpg?imwidth=1280)
Then PM Oli and others inspecting Melamchi river water canal Source: RSS
- अप्रिल महिनामा फेरी पनि काठमाडौँको संसारको सर्वाधिक प्रदूषित सहर बनेको थियो, तर यस पटक भने काठमाडौँको एक्यूआई अर्थात् वायु गुणस्तर सूचकाङ्क ४७० थियो।
- यसै गरी हिमाल चढ्ने सिजन सुरु हुँदै गर्दा ६ जना नेपाली महिलाले पहिलो पटक ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। एक पत्रकार सम्मेलनमा उक्त टोलीकी एक सदस्य तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले भनिन्, "दुइटा हिमालमा नेपाली महिला पुगेका छैनन्, अन्नपूर्ण र धौलागिरि…..अनि त्यसपछि दुई वर्ष सम्म मैले अन्नपूर्ण बाहेक केही पनि देखिन। केही छैन। मान्छेमा सपना भन्ने कुरा त्यस्तो हुँदो रहेछ। "
- नेपालमा जङ्गली अवस्थामा ७५२ वटा गैँडा रहेको अप्रिलमा गरिएको एक गन्तीले देखाएको थियो। पछिल्लो ६ वर्षमा नेपालमा गैँडाको सङ्ख्या १०७ ले बढेको थियो।
मे
- वर्षको पाँचौँ महिना यानि मे महिना नेपाल र नेपालीका लागि त्यति सुखद रहेन। यो महिनामा नेपालको कोभिड-१९ सङ्क्रमण दर संसारकै उच्च रहेको थियो। नेपालमा कोरोना फैलने दर २.०८ थियो अर्थात् नेपालमा एक जना सङ्क्रमित व्यक्तिले दुई जनालाई यो भाइरस सारिरहेका थिए। अस्पतालहरूमा अक्सिजनको चरम अभाव भएको थियो। सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छेकोमा आलोचित बनेको थियो।
- तत्कालीन प्रधानमन्त्री के पी ओलीले संसद्मा विश्वासको मत पाउन असफल भएपछि उनी स्वतः पदमुक्त भएका थिए। तर प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल एमालेका नेताको हैसियतमा ओली फेरि कामचलाउ प्रधानमन्त्री बनेका थिए। यस लगत्तै उनले भने, “म सबै राजनैतिक शक्तिहरू, पार्टीहरू, दलका नेताज्यूहरू र कार्यकर्ताज्यूहरू सबैलाई आग्रह गर्न चाहन्छु कि यस विकराल अवस्थामा आफ्नो स्वार्थको रोटी सेक्न खोज्ने प्रवृत्ति उचित हैन।“
- उता, २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर कामीरिता शेर्पाले आफ्नै पछिल्लो कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान कायम गरेको पनि मे महिनामा नै हो।
जुन
- जुन महिनामा नेपालमा लगातार भारी वर्षा र बाढी पहिरोले ठुलो क्षति गरेको थियो र ३० जना भन्दा बढीको मृत्यु भएको थियो।
- बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ढुङ्गा, गिट्टी लगायतका वस्तु निकासी गर्न अनुमति दिदैँ भनेका थिए, "वातावरणीय प्रभावको मूल्याङ्कनको प्रभावमा खानीजन्य बालुवा ढुङ्गा गिट्टी बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ।" यसको धेरै विरोध भए पछि सर्वोच्च अदालतले यो व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
- जुनमै जातीय भेदभावको धेरै विरोध भएको थियो। सञ्चारकर्मी रुपा सुनारले जातको आधारमा कोठा भाडामा नदिएको भन्दै घरपटी विरुद्ध मुद्दा दर्ता गरेकी थिइन्, र आरोपितलाई हिरासतबाट छुटाउन भनी शिक्षा मन्त्री आफैँ पुगेपछि यो घटनाले विकराल रूप लिएको थियो।
जुलाई
- जुलाईसम्म आइपुग्दा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनका विरुद्धमा परेका रिटमा फैसला गर्दै त्यो विघटनलाई बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिएको थियो। संसद्मा १६५ सांसदको विश्वासको मत पाएपछि देउवाले भने, "मेरो नेतृत्वमा नयाँ मन्त्रीमण्डल गठन भएको छ। यसलाई आगामी दिनमा पनि सबैको साथ सहयोगको अपेक्षा गर्दछु"।
- जुलाईमा जापानमा आयोजित ओलम्पिकमा नेपालकी कान्छी पौडीबाज गौरीका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् भने बल्ल-तल्ल ३० वर्ष कुरेर मेलम्चीको पानी पाएका काठमाण्डूवासीले त्यहाँ आएको बाढीले थुप्रै क्षति पुर्याएपछि मेलम्ची पुनः आसामा सीमित रह्यो।
![Prime Minister Sher Bahadur Deuba is set to face a vote of confidence in the House of Representatives on 18 July. Nepals Supreme Court reinstated its parliament on 12 July 2021, which was dissolved by former Prime Minister K.P. Sharma Oli in May 2021, and](https://images.sbs.com.au/drupal/yourlanguage/public/20210719001558283540-original.jpeg?imwidth=1280)
Nepal's newly appointed Prime Minister Sher Bahadur Deuba looks on during the first parliament meeting in Kathmandu, Nepal, 18 July 2021. Source: EPA
- वर्षको आठौँ महिना यानि अगस्टमा प्रज्ञा प्रतिष्ठानले सङ्ग्रहालय बनाउने भन्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएपछि त्यसको धेरै विरोध भएको थियो।
- त्यसै गरी अगस्टमा नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले नयाँ पार्टी दर्ता गराएपछि नेपालले भने, “यो पार्टीलाई विभाजनको दिसा तर्फ लिएर जानको लागि, यसै पार्टीका अध्यक्ष केपी ओली लागिपर्नुभएको छ। वहाँले यो पार्टीलाई एकताबद्ध गर्न चाहनुभएको छैन। वहाँ अहङ्कारको घोडामा सवार हुनुभएको छ।”
- साथै अगस्ट महिनामा नै अफगानिस्तानमा तालिबानको नियन्त्रण स्थापना भएसँगै त्यहाँ रहेका सयौँ नेपालीहरूलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइएको थियो।
सम्बन्धित सामाग्री
![Image for read more article 'सम्बन्धित सामाग्री'](https://images.sbs.com.au/dims4/default/f78b988/2147483647/strip/true/crop/2880x1620+0+152/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2Fnepalis_evacuated_from_afghanistan_returned_to_kathmandu.jpg&imwidth=1280)
अफगानिस्तानबाट नेपालीको उद्दार र ऐमालेको भयो फुट: गए ७ दिन नेपालमा
सेप्टेम्बर
- सेप्टेम्बरमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारको टोली नेपाल आएको थियो। अमेरिकी सरकारले हालसम्मकै ठुलो आर्थिक सहयोग प्रस्ताव गरेको एमसीसी संसद्ले पारित गर्नुपर्ने हुनाले अड्किरहेको थियो, र त्यस सम्बन्धमा अमेरिकी सरकारको धारणा स्पष्ट पार्न सुमारको टोली आएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू यस सम्झौताप्रति सकारात्मक भएको बताए पनि एमसीसी अहिलेसम्म पारित हुन सकेको छैन।
- साथै सेप्टेम्बरमा सरकारले केही समय राज्य कोषबाट खर्च गर्न नमिल्ने भएपछि समस्या भएको थियो। अघिल्लो नेकपा एमाले सरकारले अध्यादेशबाट बजेट ल्याएकाले यस्तो समस्या आएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले भने, “अब यो विधेयक पारित गर्न छलफल र सहमति हामी गरिराखेका छौँ। सहमति भयो भने त्यसै अनुसार पारित गर्छौँ, नभए नियमित प्रक्रिया पुरा गरेर पारित गर्छौँ।”
- सेप्टेम्बर महिनामा महिलाका मुद्दामा काम गर्ने केही समूहले स्यानिटरी प्याडको मूल्यमा लगाइएको करको विरोधमा माइतीघरमा प्रदर्शन गरेका थिए। 'रातो कर माफ गर' भन्दै महिलाहरू झन्डै १ घण्टासम्म सडकमा लम्पसार परेर बसेका थिए।
![Yough congress is demanding tax cut in sanitary pads: Last 7 days in Nepal](https://images.sbs.com.au/drupal/yourlanguage/public/youthcongress4.jpg?imwidth=1280)
Protest by Youth Congress demanding tax cut in sanitary pads Source: Girish Subedi
- अक्टोबरमा फेरी पनि भारी वर्षाका कारण नेपाल जलमग्न भएको थियो। बेमौसमी वर्षाका कारण १०० जना भन्दा बढीको ज्यान जानुका साथै पाक्न लागेको धान बाली पनि विनाश गरेको थियो। सरकारले बाढीपीडित किसानहरूलाई राहतको प्रक्रिया अगाडि बढाएको छ।
- नेपालको न्यायपालिकाको सङ्कट अक्टोबर महिनामा चर्किएको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको मर्यादा विपरीत काम गरेको भन्दै बार एसोसिएसन र सर्वोच्च अदालतका अन्य न्यायाधीशले उनको राजीनामा माग गर्दै आन्दोलन गरेका थिए। तर प्रधानन्यायाधीश भने राजीनामा नदिनेमा अडिग रहँदै यस्तो अभिव्यक्ति दिएका थिए, "म विधि र प्रक्रियाबाट आएको हुँ, म विधि र प्रक्रियाबाट जान तयार छु, तर कसैको दबाबमा परेर राजीनामा दिन्न।"
- अनि, नेपालगन्जमा दुई जना महिलाको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि केही अभियानकर्ताहरू त्यसको विरोध गर्नका लाग पैदल हिँडेर काठमान्डु पुगेका थिए।
नोभेम्बर
- वर्षको ११ औँ महिना यानि नोभेम्बरमा नेपालले पहिलो पटक भारतमा विद्युत् निर्यात गर्ने अनुमति पाएपछि बढी भएको विद्युत् बेच्न थालेको थियो। यो कदमलाई नेपाल भारत व्यापार सम्बन्धको र विद्युत् निर्यात गरेर आर्थिक समृद्धि कमाउने नेपालको लक्ष्यको कोसेढुंगा बताइएको छ।
- नोभेम्बर महिनामा नै नेपालको बाह्रौँ जनगणना गरिएको थियो। ५० हजार मानिस परिचालन गरेर करिब दुई हप्ताको अवधि भित्र यो कार्य सम्पन्न गरिएको थियो। अधिकारीहरूका अनुसार सन् २०२२ सम्ममा यसको नतिजा आइसक्ने छ।
- सन् २०२१ नोभेम्बरबाट नै नेपालले विद्युतीय राहदानी दिन सुरु गरेर पहिलो विद्युतीय राहदानी १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशीलाई दिएको थियो। राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सो अवसरमा भने, "यो विद्युतीय राहदानी संसारमा अहिलेसम्म चलेका राहदानी मध्ये सबैभन्दा पछाडिको हो। हामी यसलाई तेस्रो पुस्ताको राहदानी भन्छौँ। पहिलो पुस्ताको हस्तलिखित, दोस्रो पुस्ताको मसिन रिडेबल र यो तेस्रो पुस्ताको जसमा इलेक्ट्रोनिक चिप हुन्छ।"
![last 7 days in Nepal](https://images.sbs.com.au/drupal/yourlanguage/public/passport_40.jpg?imwidth=1280)
Source: RSS
- नेपालका तीन ठुला राजनैतिक दलहरूको महाधिवेशन भएर नयाँ नेतृत्व चुनाव भएको छ। नेपाली काँग्रेसमा शेरबहादुर देउवा र नेकपा एमालेमा केपी ओलीको नेतृत्व दोहोरिएको छ भने राप्रपाले नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन चुनेको छ।
- यसका साथ नेपालमा कोरोनाको ओमिक्रन भेरिएन्ट भेटिएको पनि पुष्टि भएको छ, डिसेम्बरमा।
- र, सन् १९८४ मा पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति कूटनीतिक प्रयास मार्फत अमेरिकाबाट फिर्ता ल्याइएपछि एउटा पूजा गरेर साबिककै स्थानमा अर्थात् पट्को टोलको नारायण मन्दिरमा प्रतिस्थापित गरिएको छ।
यो पनि पढ्नुहोस्
![Image for read more article 'यो पनि पढ्नुहोस्'](https://images.sbs.com.au/dims4/default/6d7d28f/2147483647/strip/true/crop/3668x2063+0+378/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fpodcast_images%2F20211204001603153320-original.jpeg&imwidth=1280)
चोरिएर अस्ट्रेलिया आइपुगेका नेपाली कलाकृति कहिले घर फर्केलान्?