यस हप्ताका प्रमुख समाचारमा:
- प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्का दुवै सदनको हिउँदै अधिवेशन मङ्गलवार राती अन्त्य गरेका छन्। प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण खासै काम कारबाही नभएको यो अधिवेशनमा ४२ वटा विधेयक अड्किएका छन्।
- अधिवेशनको अन्त्य सँगसँगै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग अलपत्र परेको छ। गठबन्धनको सरकारमा रहेका दलहरूले गत महिना दर्ता गरेको त्यो महाभियोग गत आइतबार संसद्मा प्रस्तुत गरिएको थियो, र बुधवार संसद्मा छलफल हुनुपर्ने थियो। त्यो हुन नपाई अचानक संसद्को अधिवेशन अन्त्य हुँदा सरकारको नियतमाथि प्रश्न उठेको छ।
- गायक प्रकाश सपुतको नयाँ गीत पिर र त्यसको भिडियो विवादमा परेका छन्। गीतमा माओवादी जनयुद्धमा भाग लिएका केही मानिसको कथा देखाइएको छ जसमा केही आर्थिक सङ्घर्ष गरिरहेका, केही विदेश पलायन भएका, र केही देहव्यापारमा लागेका देखाइएको छ। गीत थुप्रै माओवादीबाट आलोचित बनेको छ र माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले गीतलाई सामाजिक सञ्जालबाट हटाउने धम्की दिएपछि थुप्रै सर्जक र दर्शक गीतको पक्षमा उभिएका छन्। गायक सपुतले भने गीत सत्य घटनाहरूमा आधारित भएको र यसले एउटा प्रश्न उठाएको भन्दै फेसबुकमा स्ट्याटस लेखेका छन्।
- यो हप्ता देशभर उल्लासका साथ होली मनाइएको छ। दुई वर्षको महामारीपछि यस वर्ष मानिसहरूले खुलेर रङ्ग खेलेका छन् भने होलीमा गाइने परम्परागत गीतहरू सदाझैँ कम गाइएका छन्।
यसै सम्बन्धमा होली गीतका समृद्ध संस्कृति भएका दुई फरक समुदायका प्रतिनिधिहरूसँग कुराकानी गरिएको छ।
पुरा सामाग्री सुन्नुहोस्: "असली होली गाउँमा हुन्छ'' होलीमा गाइने गीत विकृत बन्दै गएको भनाइ हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
लोकसंस्कृतिमा रुचि राख्ने जनकपुरका पत्रकार श्यामसुन्दर शशीले मिथिलाञ्चलका होलीका प्रचलनको वर्णन गरेका छन्। "मिथिलाञ्चलमा एउटा चलन छ, प्रत्येक गाउँमा एउटा ब्रह्मस्थान हुन्छ, ग्राम संस्थापकको थान।
होलीको गीत त्यहाँबाट सुरु हुन्छ, र त्यसपछि गवैयाहरू सबैका घरघरमा जान्छन्। त्यसरी जाँदा गाउँलेहरूले उनीहरूलाई खानेकुरा वा केही उपहार दिन्छन्," शशी भन्छन्।
यी गीतहरू डम्फा र ढोलक बजाएर गाइने शशी बताउँछन्, तर हाल भने यो प्रचलनलाई आधुनिक मनोरञ्जनले विस्थापित गरिरहेको छ।

Source: Shyamsundar Shashi/ supplied
"जनकपुर लगायतका सहरको होली विकृत भइसकेको छ। त्यहाँ डिजे लगाएर भोजपुरी वा हिन्दी गाना गाउने चलन बढिरहेको छ," उनी भन्छन्।
"असली होली गाउँमा हुन्छ। ब्राह्मण जस्ता शास्त्रीय जातहरूमा होलीका गीत खासै गाइँदैन। गाउँमा बस्ने कथित तल्लो जातमा होलीको असली रौनक हुन्छ।"
यी होलीका गीत विभिन्न चरणमा गाइन्छन्।
"नगर पितालाई वन्दना गरेर गायन सुरु हुन्छ। बाटो हिँड्ने बेलामा बटगमनि हुन्छ। नामले नै बताउँछ त्यसको प्रकृति: बटगमनी।त्यसपछि प्रेम प्रसङ्गका गीतहरू हुन्छन्, कुनै मिलनका त कुनै विरहका।"
"अन्त्यसम्म जाँदा निर्गुण गाउने चलन छ। निर्गुण भनेको शरीरलाई नश्वर र आत्मालाई सत्य मान्ने गीतको विधा हो। त्यसको अर्थ बेग्लै हुन्छ। म मरेर जाँदै छु, शरीर छोडेर आफ्नो कर्म मात्रै लिएर जाँदै छु भन्ने किसिमका गीत पाइन्छन्," शशी गीतको विविधताका बारेमा चर्चा गर्छन्।
तर तराईको फागु गीतमा प्रमुख भनेको जोगिरा गीत मानिन्छ।
"जोगीरा भनेको एउटा विशेष ताल नै हुन्छ। यसमा रामायणका विषयमा वा समसामयिक विषयमा प्रश्नोत्तर गरिन्छ र जोगिरा सररर भनेर गाइन्छ। यसमा राजनीतिक विषयवस्तु पनि हुन्छन्। हालसालै एमसीसी पास भएको छ, नेताहरूलाई तथानाम गाली गरेर गीत बनेका छन्," शशी भन्छन्।
जनकपुरमा यस्ता गीतहरूको प्रवर्द्धन गर्नका लागि मिथिला कला परिषद्ले बर्सेनि होली गीत प्रतियोगिताको आयोजना गर्ने गरेको छ, जसमा गाउँ गाउँमा रैथाने टोलीहरूले भाग लिने गर्दछन्।
त्यसै गरी, नेपालको सुदूर पश्चिममा पनि निकै उल्लासका साथ होली मनाइन्छ।
अछामका पदम धामी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका सुदूर पश्चिम प्रदेश अध्यक्ष हुन्।

Source: RSS
अछाम र सुदूर पश्चिमका अरू जिल्लाको होलीको विशेषता उनी वर्णन गर्छन्, "पुरुषहरूले सेतो जामा र पगडी लगाएर फूलको मालामा सजिएर गीत गाउँदै होली खेल्छन्। नेपालका अन्य ठाउँमा जस्तो रङ्गहरू खेलिँदैन, खाली सभ्य र सम्मानित रूपमा रातो टिका मात्र लगाइन्छ।"
अन्दाजी ४०० वर्ष अगाडि भारतको कुमाउँ गढवालको यो होली संस्कृति नेपाल भित्रिएको मानिन्छ।
पहिले उताकै भाषामा गीतहरू गाइन्थे भने आजकाल नेपाली र अछामी भाषामा देउडाहरू गाइने धामी बताउँछन्।
"शिवरात्रिमा सुरु हुने यो पर्वमा पहिलो दिनमा शिव भजनहरू गाइन्छन् भने त्यसपछि कृष्ण र रामका भजनहरू गाइन्छन्। यी देवताको जन्म लीला, बाल लीलाबाट सुरु भएर विवाह र उनीहरूका कार्यहरूका बारेमा गीत गाइन्छन्," धामी बताउँछन्।

Source: Kamal Dhami/supplied
यसका साथै सुख दुःख साट्ने सामाजिक गीतहरू पनि रहेका छन्।
धामीले त्यस्ता केही गीतका उदाहरण पनि दिएका छन्,
शिव भजन:
शिव शंकरकी दरबार होरी खेलै हो
रामायण सम्बन्धी गीत:
चार कुमर प्यारा दशरथका चार कुमार प्यारा
ए वृद्ध बाहुली अवस्था भइ रे
ए नभई पुत्र करु क्या रे दशरथका चार कुमार प्यारा
कृष्ण-राधिका सम्बन्धी गीत:
ए नन्दका छोरा अभिमानी
मकी भरी लिन देऊ जलपानी
ए देर भइगो घाट छाडिदेऊ
घर मेरी सासू रिसानी
मकी भरी लिन देऊ जलपानी
नीति सङ्गत गीत:
हो हो रसिया
पहिलीकी रनबन बेली त मौजको रौ रसिया
ए उँचो लेको काटैया हो रसिया
तनमो यो सनिसार त मौजको रौ रसिया
मिथिलाञ्चल र सुदूर पश्चिम दुवै ठाउँमा मौलिक गीतहरूको प्रचलन कम भइरहेको र युवाहरूको यसमा रुचि घटिरहेको दुवै विज्ञले बताएका छन्।
READ MORE

पश्चिम सिड्नीमा मनाईयो होली