गत जुन महिनामा नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा उचित कदम नचालेको भन्दै निस्किएको सरकार विरोधी जुलुसमा सहभागी भएको अभियोगमा उनी सहित अन्य ६ जना विदेशी नागरिक पक्राउ परेका थिए ।
आफू चलचित्र निर्माता भएकाले त्यहाँका दृश्य खिच्न गएको र आफू प्रदर्शनमा सहभागी भने नभएको उनले बताए ।
सिड्नीबाट ५० किलोमीटर पर ब्लु माउन्टेन स्थायी घर भएका कलानीले काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा क्यामेरा बोकेर तस्बिर खिच्दै गर्दा आफूलाई प्रहरीले समातेको बताएका छन् ।
उनले सरकार विरोधी प्रदर्शनमा सहभागी हुन नभई त्यहाँ भइरहेको जुलुसका भिडियो र तस्बिर खिच्न पुगेको पनि बताएका छन् ।
सुरुमा केही समयका लागि सुरक्षाका लागि समातेको बताए पनि आफूहरूलाई तिन दिन सम्म प्रहरीले थुनेको उनले एस बि एस नेपाली सँगको कुराकानीमा बताए ।

Nepal Police sprays youth using a water canon during a protest as they demand government a better and effective response Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si
उक्त समयको घटनालाई सम्झिँदै भन्छन् “एक छिन सुरक्षाका लागि राख्छु भनेको प्रहरीले तिन दिन सम्म थुन्यो ।”
तिन दिन सम्म नेपालको जेलमा बिताएका गोकानीलाई १ सय २० डलर धरौटी तिरे पश्चात् छाडिएको थियो ।
पछि सरकारले निर्णय गरी उनी सहित अन्य चार जनालाई दुई वर्ष सम्म नेपाल प्रवेशमा रोक लगाउने गरी फिर्ता पठाएको थियो ।
सन् २०१५ मा नेपालमा गएको भूकम्पका दौरान चलचित्र निर्माण गर्न नेपाल पुगेका अस्ट्रेलियाली युवा चलचित्र निर्माता कलानी पाँच वर्ष देखि नेपालमै बस्दै आएका थिए ।
“मेरो सपना,मेरो काम,मेरा साथीहरू सबै नेपालमै छन् म कसरी फर्कने, एक छिन त मलाई रुन मन लाग्यो । ” कलानीले सरकारी निर्णय पछि फर्कन परेकोमा दुख व्यक्त गरे ।

kalani gacon celebrating tihar festival in nepal. Source: Supplied
यद्यपि सरकारको निर्णय आफ्ना लागी स्वीकार्य भएको र दुई वर्षको समयमा नयाँ कुरा सिकेर आफ्नो परिवार सँग समय बिताउने पनि उनले बताए ।
“अस्ट्रेलियामा रहेका परिवार सँग समय बिताउने मौका मिल्यो,नयाँ कुरा सिक्नका लागि,नयाँ अनुभव गर्नमा यो समय बिताउँछु ।” उनले भने ।
कलानीको नेपाल सम्बन्ध
२०७२ सालमा भूकम्पका बेला भारत हदै नेपाल पुगेका कलानी त्यस पश्चात् त्यही बस्न थालेका हुन् ।
पाँच बर्से नेपाल बसाइँका क्रममा उनी नेपाली भाषा प्रस्ट सँग बोल्न सक्ने बनेका छन् ।
“मैले एकचोटी पनि सोचेको थिएन कि म यहाँ बस्छु भनेर, म त्यहाँको जीवनमा यति धेरै संलग्न भए यति गहिराइमा पुगे कि म फर्कनै सकिन् ।” उनले भने ।
नेपालका मानिसहरूको समुदाय,संस्कृति र मानवता प्रतिको माया र भाव यति गहिरो लाग्यो उनले कि पाँच वर्ष नेपालमा बितेको पत्तै पाएनन् ।
“म सानो छदा विश्वको मानचित्र हेर्दा मैले कहिले सोचेको थिएन कि म नेपालमा गएर बस्नेछु” उनले हाँस्दै भने ।

kalani gacon,while shooting in nepal. Source: Supplied
चलचित्र निर्माण गर्ने क्रममा उनले नुवाकोटको तामाङ बस्तीमा सानो घर पनि निमार्ण गरेका छन् । उनी त्यहीको एक तामाङ परिवार सँग बस्दै आइरहेका थिए ।
सिनेमा देखि सहयोग सम्म
कलानी ९ वर्ष देखि चलचित्रमा काम गर्न थालेका हुन् । चलचित्र निर्माणकै क्रममा उनी विभिन्न मुलुकमा पुगेका छन् ।
सन् २०१५ को अप्रिलमा करिब ९ हजार मानिसको ज्यान जाने गरी गएको भूकम्पमा पश्चात् त्यहाँ पुगे पछि उनले नेपालमा मानिसहरूको कथाहरूमा चलचित्र निर्माण गर्न सुरु गरे ।
भूकम्पको अवस्थालाई चित्रण गदै उनले “भूकम्प,स्टोरी अप नेपालस् ग्रेट अर्थक्वेक” नाम चलचित्र बनाए ।
नेपालमा बसेको केही समय पश्चात् परिवारलाई आर्थिक रूपमा उकास्ने उद्देश्यले विदेशमा जाने युवाहरूको कथामा उनले “जर्नी टु दी सेन्टर अफ हार्ट” नामक अर्को चलचित्र निर्माण गरे ।

kalani gacon,while shooting in nepal. Source: Supplied
पछिल्लो समय पक्राउ परेर अस्ट्रेलिया फर्काइने क्रममा भने उनी नेपालमा लकडाउनले सामान्य काम गरी खाने मानिसहरूको कथामा चलचित्र निर्माण गदै थिए ।
नेपालमा पाँच बर्से बसाइँका दौरान चलचित्र निर्माण गर्ने मात्र होइन सामाजिक काममा पनि सक्रिय भूमिका निर्वाह गरेको कलानी बताउँछन् ।
“पछिल्लो समय १ सय २० दिन सम्म लकडाउनका कारण भोक भोकै रहेका मानिसहरूलाई खाना खुवाउने काममा उनी सक्रिय रहे।"
यस अघि पनि सामाजिक काममा सक्रिय रहेको उनी बताउँछन् ।
चलचित्र निर्माण गरेरै सामाजिक कामका लागि पैसा जुट्छ त भन्ने प्रश्नमा भने उनले अनलाइन मार्फत विश्वभरका मानिसले आफूलाई सहयोग गर्ने बताउँछन् ।
मानवताका हिसावले नेपाल बिकसित
अस्ट्रेलियाका ठुला-ठुला घर,सुख सुविधा हेर्दा अस्ट्रेलिया उनलाई विकास भएको देश लाग्छ तर मानवता र सम्बन्धका हिसाबले नेपाल अस्ट्रेलिया भन्दा बिकसित रहेको उनले पाएको बताउँछन् ।
“अस्ट्रेलिया यस्तो राम्रो, पूर्वाधार पनि राम्रो छ,ट्रेन पनि समयमै आउछ ,शिक्षा पनि निकै राम्रो छ, तर सांस्कृतिक रूपमा, मानवताको हिसाबले,समाजका हिसाबले अस्ट्रेलिया विकास भएको छैन , त्यस अर्थमा नेपालमा धेरै विकास भएको छ ।”
जेल देखि देशनिकाला सम्म
लकडाउन भएदेखि नै उनी नेपालमा कोरानाका कारण अप्ठेरोमा परेका मानिसहरूका बारेमा डकुमेन्ट्री फिल्म निर्माण गर्न र उनीहरूलाई खाना खान सहयोग गर्न व्यस्त बनेका थिए ।
मानिसहरू कोरोनामा कसरी बाच्छन्। सडकमा बसेका भारी बोकेर जीवन धान्नेहरूले कसरी जीवन धानिरहेका छन् भन्ने बारेमा चलचित्र निर्माणकै क्रममा थिए उनी ।
यसै क्रममा माइतीघरमा भएको एउटा आन्दोलन खिच्न पुगेका कलानी प्रहरीले एक्कासि पक्रिए पछि अन्योलमा परे ।
प्रहरीले किन समातेको हो भन्ने कुरा पनि राम्ररी बताएन । तिन दिनमा जेलमा बिताउँदाको समयका सम्झँदै भन्छन् “उडुसले टोके पछि रात भरी सुतिन्, प्रहरी दाईहरु सँग रातभरि कुरा गरेर समय बिताए । ”

kalani gacon,film maker Source: Supplied
जेलमा आफू सँग कोठामा थुनिएका मानिसहरूलाई उनले साथी पनि बनाउन भ्याए ।
जेल बाट छुटेको केही दिनमा उनी प्रहरी कार्यालयमा गए र प्रहरी सँग चिया पिएर फर्किए ।
सरकारले उनी सँगै पक्राउ परेका अन्य पाँच जना मध्ये चार जनालाई नेपालको अन्तरीक मामलामा सामेल भएको भन्दै दुई वर्ष सम्म नेपाल आउन नपाउने गरी देश निकाला गरिदियो ।