कलाकार बुद्धि तामाङसँग को हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
१) गत साता तपाईको मुख्य भूमिका रहेका दुई फिल्म ‘चंगा’र ‘मट्टीमाला’एकैसाथ रिलिज भएका थिए । आफैद्धारा अभिनित दुई वटा फिल्म एकैसाथ रिलिज हुँदा कस्तो प्रतिक्रिया पाउनु भइरहेको छ ?
एउटै कलाकारको फिल्म जुधेर रिलिज हुदाँ कलाकारलाई नराम्रो महसुश हुने रहेछ । फेरि दर्शकहरु अन्यौलमा पर्ने गरेका छन् । दुवै फिल्मले मध्यम व्यापार गरेपनि एकसाथ रिलिज हुँदा खिन्न भएको थिएँ।
२) नेपाली रंगमञ्चमा सबै खालका भूमिका निर्वाह गरिसक्नु भएको तपाई, फिल्ममा भने कमेडी विधामामात्र स्थापित हुनु भएको छ । अन्य भूमिकामा कमै देखिनुको कारणचाँहि के होला ?
कमेडी विधाबाहेका भूमिकामा काम गरेको छु । हामी कलाकारलाई एउटा विधाको ट्याग लागिसकेपछि त्यही भूमिकाको लागि बारम्बार अफर आउने रहेछ । त्यसैका आधारमा स्क्रिप्ट तयार हुने भएकाले उस्तै लाग्ने गरेको हो ।
सुरुमा कोहीले हाँस्य कलाकार भन्दा कलाकारपनि हाँस्य र रुन्चे हुन्छ भनेर म गुनासो गर्थे । अहिले मलाई हाँस्य कलाकारको ट्याग लागेको छ । ‘तान्द्रो’र ‘ए मेरो हजुर २’मा मैले गरिरहेको भन्दा फरक भूमिका निर्वाह गर्ने अवसर पाएको थिए ।
३) गत वर्षमात्र डेढ दर्जन फिल्ममा अभिनय गरिसक्नु भएको थियो । अहिले व्यस्त कलाकारको रुपमा स्थापित तपाईको नेपाली फिल्मको अनुभव कस्तो रह्यो ।
मैले मूख्य भूमिका निर्वाह गर्न नपर्ने हुँदा १५ वटा फिल्ममा काम गर्न पाएको हुँ । सुटिङको दौरान तनावचाँहि धेरै हुने रहेछ । दुई महिनामा मैले अभिनय गरेको ७ वटा फिल्म रिलिज भइसकेका छन् । समय तालिका नमिल्दा अधिकांश फिल्म जुधेका छन् ।
४) दुई फिल्ममा अभिनेताको रुपमा देखिनु भएको छ । दर्शकले अब भने तपाईलाई कलाकारभन्दा अभिनेताको रुपमा हेर्न पाउने भएका हुन् ?
म फिल्मको मूख्य भूमिकाको जिम्मेवारी बोकेर हिड्न सक्षम भइसकेको छैन् । रिलिज भएका फिल्महरुमा म कलाकारको रुपमा देखिएको छु ।
५) नेपाली रंगमञ्चबाट फिल्म क्षेत्रमा आउनु भएका कलाकारहरुले बिस्तारै रंगमञ्चलाई माया मार्ने गरेका छन् । नेपाली फिल्ममा सक्रिय भइरहनुभएको तपाईचाँहि कहिल्यै रंगमञ्चमा फर्कदैँ हुनुहुन्छ ?
मैले वर्षमा कम्तीमा पनि दुई वटा नाटकमा अभिनय गर्ने सोच बनाएको छु । नाटकको लागि कम्तीमा तनि महिना दिनुपर्ने हुँदा संख्यात्मक हिसाबमा कम भएका हुन् । गत वर्षमात्र पूर्वाञ्चन नाट्य यात्रामार्फत नाटक लिएर हामी पूर्वाञ्चलका विभिन्न स्थानमा पुगेका थियौं ।
Nepali Actor Buddhi Tamang speaking to SBS Nepali. Source: Nabin Babu Gurung
६) नेपाली रंगमञ्चलाई कसरी सम्झनुहुन्छ ?
मेरो लागि नेपाली रंगमञ्च भर्याङ हो । सुरुवाती दिनमा यसमा लागेर संघर्ष गरेको थिए । त्यसबेला गुरुकुल स्थापित थियो । ठूला हलहरुमा पैसा तिरेर नाटक देखाउन सक्ने अवस्थामा थिएनौं । त्यसैले मण्डला थिएटर स्थापना गरेका थियौं । मण्डला स्थापना भएपनि सुरुमा दर्शकहरु थिएनन् । अहिले मण्डला थिएटरका अधिकांश शोहरुमा दर्शकहरुको उपस्थिति अत्याधिक हुने गरेको छ ।
७) पहिलो पटक काठमाडौं अभिनय गर्नको लागि पक्कै आउनु भएको थिएन् । कसरी अभिनयमा करियर बनाउँछु भनेर लागि पर्नु भएको थियो ?
वि.सं. २०५६ मा एसएलसी दिएपछि पैसा कमाउन काठमाडौं आएको थिए । पैसा कमाउनका लागि बदाम बेचे, भक्तपुरको इँटाभट्टामा लेबरी गरे, फूल बेच, होटलमा भाँडा माझ्नेदेखि म्यानेजरसम्म भएँ । पैसा राम्र्र कमाइरहेको थिए ।
तर मन सन्तुष्ट हुन भने सकेको थिएन ।
जहिलेपनि हाट इज नेक्स्ट ? भन्ने प्रश्न पछ्याइरहेको महसुश हुन्थ्यो । वि.सं. २०६२ सालमा पुष्कर गुरुङको डबली नाट्य समूहले नाटकका लागि कलाकार खोज्दै गरेको थाहा भयो । म यही नाटक समूहमा आवद्ध भए ।
८) तपाईको पारिवारिक पृष्ठभूमिबारे केही भन्न मिल्छ ?
म काभ्रेको तिमाल सरमथली गाउँमा जन्मिएको हुँ। चार जना दिदीहरुले बिहे गरिसक्नु भईसक्यो । म एक्लो छोरो भएकाले सानैदेखि पुलपुलिएर हुर्किएँ ।
९)अभिनयलाई निरन्तरता दिने कि ‘ह्वाट इज नेक्स्ट ?’ भनेर प्रश्नमा हुनुहुन्छ ?
अहिले ‘ह्वाट इज नेक्स्ट ?’ भनेर प्रश्नले लखेटेको छ्रैन । रंगमञ्च, फिल्म र टेलिसिरियललाई निरन्तरता दिने सोचमा छु । वर्षमा दुई वटा नाटकमा अभिनय गर्छु । राम्रा फिल्म छनोटमा ध्यान दिन थालेको छु ।
१०) स्थापित कलाकारहरुले सबै खालका भूमिका निर्वाह गर्छन भन्नु कुरालाई कसरी खण्डन गर्नुहुन्छ ?
फिल्ममा नयाँ पात्रको जीवन बुझ्न पाइने हुँदा हामी कलाकारहरु पैसाभन्दा फिल्मको भूमिकाबारे लोभी भएका छौं। तर, हरेक फिल्ममा उस्तै भूमिका हुने भएकाले खिन्न हुनुपर्ने अवस्था छ ।
मैले सकेसम्म आएजति सबै फिल्ममा साइन गर्दिनँ ।
११) तपाईल निर्वाह गर्नु भएका मध्ये चुनौतीपूर्ण लागेका भूमिकाहरु कुन कुन हुन् ?
नाटक बुझ्न तीन महिने कार्यशालामा सहभागी भएको थिए । त्यसै बेला राजन खतिवडाबाट लाइटिङ, मञ्च सेटिङ लगायत रंगमञ्चका टेक्निकल पाटोको काम सिक्ने अवसर पाएको थिएँ । ‘मलामी’नाटकमा ६५ वर्षको बुढोको अभिनय गर्ने मौका मिल्यो ।
‘सुनकेशरी’, ‘चरणदास चोर’र ‘मिन्यू’मा तुलनात्मक रुपमा चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ। ‘कबड्डी’फिल्ममा अभिनय गर्ने प्रस्ताव आयो । ‘मेरी बास्सै’नामक टेलिसिरियलमा ‘हैट’थेगोबाट दर्शकले मलाई चिन्नुभएको छ ।
१२) विश्वकप हेर्ने फुर्सद पाउनु भएको छ ? कुन टोलीलाई समर्थन गरिरहनुभएको छ ?
यसअघिका वर्षहरुमा विश्वकप हेरिन्थ्यो । यसपटक सुटिङको व्यस्तताले फुर्सद मिलाउन पाएको छैन् । म अर्जेन्टिनाको समर्थक भएपनि यसपटक जसले जित्छ त्यसैलाई साथ दिन्छु ।