एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गोर्खा मिडिया नेटवर्कमा अवैध लगानी गर्ने नौ सहकारीमाथि कारबाहीको सिफारिस

459596237_8272868076138957_9050938792356216113_n (1).jpg

Parliamentary Inquiry Special Committee presented its report on the misappropriation of cooperative society savings funds in the House of Representatives. Credit: Facebook/Surya Thapa

सहकारी छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी प्रतिवेदन संसद्मा प्रस्तुत गरेको छ। यो लगायत नेपालको यस सप्ताहको प्रमुख समाचारहरू सुन्नुहोस्।


सहकारी छानबिन समितिले बुझायो प्रतिवेदन

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधि सभामा प्रस्तुत गरेको छ।

समितिका सभापति सूर्यबहादुर थापाले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्।

समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुन विपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ।
यस्तै उक्त प्रतिवेदनले आर्थिक अपचलन र दुरुपयोग गर्ने सहकारीसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक र प्रबन्धकलाई पनि कारबाही गर्न सिफारिस गरेको छ।

गोर्खा मिडिया नेटवर्कको बारेमा समितिले फेला पारेको तथ्यबारे सदनमा बोल्दै सभापति थापाले भने, ''गोरखा मिडिया नेटवर्कमा आएको ६५ करोड सबै सहकारीको पैसा हो भन्ने देखिएको छ।''

''कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ कम्पनीका सञ्चालक वा सेयर होल्डरहरू यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। सेयर सदस्य सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन,'' समितिको प्रतिवेदनमा भनिएको छ।

''सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रा लिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालक कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।''

साथै समितिले सहकारी नियमनका लागि एउटा राष्ट्रिय सहकारी प्राधिकरण स्थापना गर्नुपर्ने सुझाव दिएको छ।

सरकारले पलेशालाई दियो ६५ लाख पुरस्कार

सरकारले पेरिस पाराओलम्पिकमा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई पुरस्कृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख रुपैयाँ प्रदान गरेका हुन्।
यस्तै उनको प्रशिक्षक कविराज नेगी लामा र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पाँच लाख ८५ हजार र दुई लाख ९२ हजार रुपैयाँ प्रदान गरे।

उक्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विश्व स्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गरे र पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक रहेको र यसमा देशले गौरव गरेको बताए।

यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा उनको सहभागिताका लागि समन्वय गर्न सरकारले पहल गर्ने बताए।

मङ्सिर १६मा स्थानीय तहको उपनिर्वाचन

मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगले सरकारलाई उक्त मितिमा उपनिर्वाचन गर्नका लागि सुझाव दिएको थियो।

उक्त सिफारिस अनुरूप मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले सो निर्णय गरेको हो।

मन्त्रीपरिषद्ले गरेको सो निर्णयबारे सञ्चार कर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ''मन्त्रीपरिषद्ले निर्वाचन आयोगको सिफारिसमा मङ्सिर १६ गते स्थानीय तहका ३९ रिक्त पदमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ।''

प्रधानन्यायाधीशमा राउत सिफारिस

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गते बाट अवकाशमा जाँदै छन्।

उपसभामुखबारे सदनमा चर्चा

उपसभामुख इन्दिरा रानाको राजीनामाको विषयले यो साता निकै चर्चा पायो।

सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले उनको राजीनामाको विषय सदनमा उठाएपछि यो विषयले थप चर्चा पाएको हो।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकाल र गोकुल बास्कोटाले उपसभामुख रानालाई राजीनामा दिन सुझाव दिएका हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उपसभामुखको नैतिकताको प्रश्न उठेको सांसद ढकालले भने,
नैतिकता र पदीय मर्यादाको कुरा उठेको छ। मानव तस्करीको कुरा उठेको छ। उपसभामुख जस्तो व्यक्तिमाथि प्रश्न उठेपछि राजीनामा दिन माग गर्छु।
यस्तै नेकपा एमालेका सांसद बास्कोटाले आफ्नो उदाहरण दिँदै उपसभामुखलाई राजीनामा दिन माग गर्दै भने, ''यहाँ कयौँ दृष्टान्त छन् म पनि एउटा हुँ। प्रश्न उठेपछि मैले आफ्नो पदबाट राजीनामा दिएको थिएँ। ममाथि छानबिन गरियोस्, दोषी भए प्रमाणित गरियोस् र कारबाही गरियोस्,यति आँट राजनीतिक मान्छेको हुनुपर्छ जसले लोकतन्त्रको दुहाई दिन्छ। त्यसैले उहाँले पदबाट मार्ग प्रशस्त गर्दा सबैलाई जवाफ त्यही हुन्छ।''

सत्ता गठबन्धनले उपसभामुखलाई हटाउने प्रस्ताव लैजाने तयारी गरेको चर्चा चलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सो दलका सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने प्रस्ताव लैजाने कुरा अलोकतान्त्रिक भएको बताए।

यस्तै नेकपा माओवादी केन्द्रले उपसभामुख रानाको पक्षमा उभिने बताएको छ।
संवैधानिक परिषदमा आफ्नो दलको प्रतिनिधित्व नभएको भन्दै नेपाली काँग्रेसले उसको हिस्सा खोजेपछि उपसभामुखलाई हटाएर उक्त पद नेपाली काँग्रेसलाई दिने तयारी भएको भन्ने खालका विवरणहरू सञ्चार माध्यमा आएका छन्। तर यसलाई सत्तापक्षका नेताहरूले भने पुष्टि गरेका छैनन्।

उपसभामुख रानाले करिब डेढ वर्ष अघि सङ्घीय संसद्को लेटरप्याड प्रयोग गरेर काठमाण्डू स्थित अमेरिकी दूतावासलाई केही व्यक्तिको भिसाको अन्तर्वार्ता मिति अघि सारी दिनका लागि लेखेको एउटा पत्र केही महिना अघि सार्वजनिक भएपछि उनी विवादमा परेकी हुन्।

क्यानडासँग नेपाल पराजित

आइसीसी क्रिकेट विश्वकप लिग-२को क्यानडा सिरिजमा नेपालले सुखद सुरुवात गर्न सकेन। घरेलु टोली क्यानडासँग किङ्ग सिटीमा भएको पहिलो खेलमा नेपाल १०३ रनले पराजित भयो।

पहिलो ब्याटिङ गरेको क्यानडाले २५४ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य पछ्याएको नेपालको इनिङ ४०.१ ओभरमा १ सय ५० रन बनाएर सकिएको थियो।

लिग-२मा सहभागी हरेक राष्ट्रले ३६ वटा एक दिवसीय खेल खेल्ने छन्। जसबाट अङ्क तालिकाको शीर्ष चार टोलीले सन् २०२७को विश्वकपका लागि हुने ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित बनाउने छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share