नेपालमा ४-१९ जनवरीको बीचमा जलपन्छीको गणना हुँदै छ जसका राष्ट्रिय संयोजक हुन् वरिष्ठ पन्छिविद हेमसागर बराल। वेटल्याण्ड्स इन्टरन्याशनल नामक अन्तर्राष्ट्रिय संस्थाले यस समयमा विश्वभर एकैसाथ जलपन्छीको गणना गर्ने गरेको छ, जुन नेपालमा हिमाली प्रकृति नामक संस्थाले संयोजन गर्दछ।
नेपालमा हिउँदे मौसममा रूसको साइबेरिया लगायत विभिन्न चिसो ठाउँबाट चराहरू आउने गर्दछन्। क्यामेरा, वाइनोकुलर र टेलिस्कोपको प्रयोग गरेर यस वर्ष नेपालमा ६० तालतलाउ र सिमसार क्षेत्रमा चराहरूको गन्ती गरिँदैछ जसमध्ये पहिलोपटक हिमाली क्षेत्रमा रहेको राराताल पनि रहेको छ।
विश्वव्यापी गणनाको सन्दर्भमा पर्यावरणमा चराहरूको महत्वका बारेमा सेवा भट्टराईले हेमसागर बरालसँग कुराकानी गरेकी छिन्।
READ MORE
किन हराउँदै छन् आकाशबाट चरा?
एसबीएस रेडियोः वेटल्याण्ड्स इन्टरन्याशनलको नेतृत्वमा नेपालमा पन्छीहरूको गणना शुरू भएको छ। यो गणना कहाँ हुँदैछ, कसरी र हुँदैछ र मुख्यतः किन हुँदैछ? त्यो बताइदिनुस् न।
हेमसागर बरालः यो स्वतस्फुर्त रूपमा स्वयंसेवकहरूले र नेपालका विभिन्न ठाउँमा छरिएर बसेका स्थानीय पन्छिविदहरूले आफैंले श्रोतहरू जुटाएर गर्नुहुन्छ। विभिन्न स्थानीय संघसंस्थाले सहयोग गर्नुहुन्छ। यो वर्ष हामीले ३५० स्वयंसेवकहरू परिचालित गरेका छौं। एकजना चाहिं मुख्य गणक हुन्छ जसलाई चराको प्रजातीहरूको राम्रो ज्ञान हुन्छ। कुनै तलाउ छ भने वरीपरी घुमेर वहाँले गणना गर्नुहुन्छ – प्रजाती कुन हो र कति संख्यामा छन् भनेर । एउटै चरालाई दुइचोटि गन्ने र भएका चरालाई कम गन्ने गल्ती भरसक घटाएर वहाँले गर्नुहुन्छ। पुर्व मेची देखि पश्चिम महाकालीसम्म लगभग हामीले त्यहींका स्थानीय गणकबाट गरिरहेका छौं।
पन्छीहरूको गणना किन गर्नुहुन्छ?
विश्वभर यसरी एकैसाथ जलपन्छीको गणना गर्दा विश्वभरका सिमसारमा रहेका जलपन्छीको संख्या वेटल्याण्ड्स इन्टरन्याशनललाई उपलब्ध हुन्छ। र विश्वभर नै कसरी जलपन्छीको संख्या घटबढ भइरहेको छ भन्ने विवरण निकाल्न सजिलो हुन्छ। यो हामीले थाहा पाइसकेपछि घटिरहेका चराहरूको संख्या कसरी रोक्न सकिन्छ, यसको संरक्षण कसरी गर्न सकिन्छ, कस्तो खालको रणनीति अपनाउनु पर्छ भन्ने कुरा थाहा हुन्छ।नेपालमा कस्ता कस्ता खालका जलपन्छी पाइन्छन्? विशेषगरी हिउँदे याममा धेरै बसाइँसराई गरेर पनि आउँछन्, त्यस्ता चरा चाहिं कुन कुन हुन्?
Hem Sagar Baral Source: RSS
नेपालमा पाइने ८८० प्रजातीका चरामध्ये १५० प्रजातीका हिउँदमा आउने प्रजाती छन्। ती १५० मा पनि आधाउधी जलपन्छी छन्। ३० प्रजातीको हाराहारीमा त हाँस मात्रै छन्। र लामा खुट्टा हुने, छिपछिपे पानीमा हिन्ने चरा पनि आउँछन। तिनीहरूलाई अंग्रेजीमा वेडर्स भनिन्छ र नेपालीमा सुडसुडिया, टिमटिमा आदि भनिन्छ। नेपालमा हिउँदमा प्रवेश गर्ने धेरै प्रजातीहरू चाहिँ उत्तरतिर –साइबेरिया, चीन वा मंगोलियातिरबच्चा कोरल्छन्। हिउँदमा जाडो छल्न आउँछन्। यस्तै खालको एउटा बसाइँसराई बर्खा याममा हुन्छ। तिनिहरूले चाहिँ बच्चा कोरलेर फर्केर दक्षिण जान्छन्।
सन् १९८७ देखि नेपालमा पन्छीको गणना गर्न थालेको ३० वर्ष भन्दा बढी भइसक्यो। यो अवधीमा नेपालका जलपन्छीको प्रजाती र संख्यामा कत्तिको घटबढ भएको छ?
सन् २००० तिर संख्या अलिअलि घट्न थालेको छ। सन् २००० पछि भने अचानक ठुलो संख्यामा घटेको छ। त्यो घट्ने क्रम जारी रह्यो र केही वर्षमा घटेकै संख्या स्थिर हुन आयो। नेपालमा मात्रै होइन विश्वभर चराहरू घटेको देखिन्छ।
बढ्दो शहरीकरण हो कि के कारण हो चराहरू घट्नुमा?
लगभग सबै कारणहरू मानिससँग सम्बन्धित छन्। सबभन्दा ठुलो चाहिँ बासस्थानको विनाश। त्यसपछि चोरी शिकार। सिमसारमा पाइने माछा जस्ता प्राकृतिक श्रोतको अत्यधिक दोहन भएको छ। त्यसले गर्दा खानाको कमी आयो। अन्त्यमा जलवायु परिवर्तन पनि छ। महत्वपुर्ण कारण हो, सबैले कुरा गरेका छन्जलवायु परिवर्तनले खतरा उत्पन्न गरेको छ भनेर। सिमसारहरू सुकिरहेका छन्, विषादिको प्रयोग बढेको छ।चराहरूको महत्व के हो हाम्रो पर्यावरणको लागि?
Source: RSS
महत्व त थुप्रै हुन्छ। चराहरूले पानीमा, सिमसारमा रहेको शक्तिलाई जमीनमा ल्याउन ठुलो भुमिका खेलेको हुन्छ। चराहरूले कति किरा फट्यांग्रा खाइदिन्छन्, जुन नखाएमा किरा फट्यांग्राले बालीनाली नाश गर्न सक्छन्। हाम्रा पुराना मान्यताहरू छन् जसमा पनि चराहरू केही न केही तरिकाले सम्बन्धित छन्। जस्तो सरस्वतीको वाहन सेतो हाँस हो। चरा बचाएनौं भने त्यो मूल्य पनि नष्ट हुन्छ।
र चराहरूले हाम्रो स्वास्थ्य राम्रो राख्नका लागि जुन भुमिका खेलेको हुन्छ, त्यसको कम मुल्यांकन गरेका छौं कि पनि भनिन्छ आजकाल। किनभने तपाइँ हामी बसेर कुरा गरी राख्दा पनि बाहिर धोबिनी चरी कराइराखेको छ। त्यसलाई हामीले वास्ता गर्दैनौं, तर त्यसले हाम्रो मन शान्त बनाउनमा कति भुमिका खेलिरहेको हुन्छ। प्रकृतिमा गएर शान्त वातावरणमा चराहरूको चिरबिर सुन्दा हामीलाई थेरापी गरेजस्तो हुन्छ।
चराहरूलाई जोगाउनलाई अथवा संख्या घट्न नदिनलाई के गर्नुपर्छ?
हामीले चरासँगै बाँच्न सिक्नुपर्छ जस्तो लाग्छ मलाई। चराहरू हाम्रो उत्पत्तीभन्दा अगाडि यहाँ आएर बसेका हुन्। पृथ्वी भनेको चराको पनि उत्तिकै हो जति हाम्रो हो। चरालाई बचाउनु हामी प्रत्येक व्यक्तिको कर्तव्य हो र हामीले सरकारको मुख ताक्नु पर्दैन। चरालाई बचाउन सरकारले रोक्दैन, बरू सहयोग गर्छ। र प्रत्येकले म चरा बचाउँछु, चराको संरक्षण गर्नु पर्छ भन्ने भावना लिएर अगाडि बढ्यौं भने घरबाटै शुरू गर्नु पर्यो चरा बचाउन।