अपाङ्गता भएका मानिसहरु रोल मोडल हुनुपर्छ: अभियन्ता सागर प्रसाई

Disability advocate Sagar Prasai spoke to SBS Nepali.

Disability advocate Sagar Prasai spoke to SBS Nepali. Source: Supplied

नेपालमा अपाङ्गता भएका मानिसहरुको अधिकारको लागि सक्रिय अधिकारकर्मी सागर प्रसाई राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालमा परियोजना संयोजक हुन् । ‘सँगै हामी’नामक संस्थाका अध्यक्ष समेत रहेका उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी।


सागर प्रसाईसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
१) नेपालमा अपाङ्गता भएका मानिसहरुको स्थिति कस्तो छ ?

अहिलेको स्थितिमा अपाङ्गता भएका मानिसहरुको लागि धेरै चुनौतीहरु छन् । हामीहरुले प्रयोग गर्ने बाटो अपाङमैत्री हुनसकेको छैन् । त्यसमाथि काठमाडौंमा जताततै बाटोहरु खनिएका छन् ।

अपाङ्गता भएका मानिसहरुलाई हेर्ने दृष्टिकोणनै स्वीकार्य नभएकोजस्तो लाग्छ । पहिलोको तुलनामा भने अपाङ्गता भएका मानिसहरुलाई हेर्ने र बुझ्ने कुरामा सकारात्मक परिवर्तन आएको छन् । नेपाल सरकारले आफ्नो मातहतमा रहेका भवनहरु अपाङमैत्री बनाइरहेको छ ।
अधिकांश कुराहरुमा सुधार भएपनि काफी भइसकेको भने छैन् ।
२) अपाङ्गता भएका मानिसहरुले काम गर्ने सरकारीदेखि विभिन्न खालका कार्यस्थलहरु कतिको विश्वव्यापी मापदण्डअनुसार तयार भएका छन् ?

नेपालमा अपाङ्गता भन्नासाथ ह्विलचेयर प्रयोगकर्तालाई मात्र लिने गरिएको हुँदा पक्कैपनि उनीहरुलाई सहज भएको होला । म, आफैं ह्विलचेयर प्रयोगकर्ता भएकाले केही सहज महशुस गरेको छु ।

तर, अपाङ्गताभित्र विभिन्न विविधता हुने गरेको छ । त्यसमा दृष्टिविहिनदेखि सुन्न नसक्ने मानिसहरुपनि पर्दछन् । सुनाई सम्बन्धी अपाङ्गता भएका मानिसहरुको लागि सरकारी कार्यलयमा सांकेतिक भाषाका दोभाषे नहुँदा उनीहरुले आफ्ना कुरा राख्न पाउँदैनन् ।

त्यस्तै दृष्टिविहिनहरुले सरकारी फारम भर्न सक्दैनन् । अझ दुरव्यवहारको शिकार भएका बहिरा मानिसहरुले उजूरीसम्मपनि गर्न सक्ने स्थिति छैन्। 

३) राजधानीको हिलो र धुलो खाल्डाखुल्डी सडकमा एक ह्विलचेयर प्रयोगकर्ता भएर हिड्नुका समस्याहरु के–के होला ?

काठमाडौंमा अहिले जताततै बाटो बनाउँदै गरेको हुँदा पानी पर्ने बितिक्कै हिलो हुन्छ । यसले गर्दा ह्विलचेयर प्रयोग गरेर हिड्न सकिन्न । मेरो घर अगाडी बाटो बनाउने काम भइरहेको हुँदा पानी पर्दा धेरै पटकमा घरमा थुनिएको छु ।

फेरि काठमाडौंको बाटोमा फुटपाथ साधुरिदै गएको हुँदा सडकबाट हिड्नुपर्ने स्थिति छ । सडकमा गुड्ने ठूला गाडीले हानिदिने डर जहिले भइरहन्छ । 

४) नेपालका सामान्य बाटोहरु किन अपाङमैत्री हुन नसक्नुको हो ?

नेपालका बाटोहरु निर्माण गर्दा अपाङमैत्री बनाइनेछ भनिएपनि ठेकेदारहरुले प्राथमिकता नदिएको पाइएको छ । नेपालमा बनाइएका बाटोहरु मानव केन्द्रित नभएर गाडी केन्द्रित निर्माण भएका छन् । सडक बिस्तारको क्रममा फुटपाथ खुम्याउँदै लगिएको छ ।
अपाङ्ता भएका मानिसहरुले खुम्याउँदै लगिएको फुटपाथ प्रयोग गर्न सक्ने स्थिति छैन् ।
Disability advocate Sagar Prasai spoke to SBS Nepali.
Disability advocate Sagar Prasai spoke to SBS Nepali. Source: Supplied


५) विभिन्न तत्थाकंका अनुसार नेपालमा ह्विलचेयर प्रगोगकर्ताहरुको लागि ह्विलचेयर अभाव हुनुको कारण के होला ?

नेपालमा विभिन्न गैरसरकारीदेखि प्राइभेट कम्पनीहरुले ह्विलचेयर वितरण गरिरहेपनि ह्विलचेयर प्रगोतकर्ता र ह्विलचेयरको अनुपात मिलेको छैन् । सरकारले ह्विलचेयर वितरणको लागि बजेट विनियोजन गरेर काम गर्ने हुँदा प्रभावकारी देखिन्छ ।

डब्लुएचओको मापदण्ड अनुसार ह्विलचेयर जथाभावी वितरण गरिनुहुन्न भनिएको छ । ह्विलचेयर प्रयोगकर्ताको लागि ह्विलचेयर लुगाजस्तो भएकाले उनीहरुको नापअनुसार बनाउनुपर्छ भनिएको हुँदा सहजै नपाइएको हो ।

किनभने, नेपालमा ह्विलचेयर निर्माण गर्ने मानिसहरु स्वास्थ्य मन्त्रालयबाट प्रमाणित हुनपर्ने हुँदा अपुग छन् । ह्विलचेयरमात्र नभएर नेपालमा अपाङ्ता भएका मानिसहरुले प्रयोग गर्ने एसेस्टिभ डिभाइसहरुको अभाव छ । 

६) सरकार र गैरसरकारी संस्थाहरुले अपाङ्गता भएका मानिसहरुको जीवनस्तर बढाउन विभिन्न खालका सीपमुलक कार्यक्रहरु संञ्चालन गरिरहेका छन् । तैपनि अपाङ्गता भएका मानिसहरुको आर्थिक स्तर नबढ्नुको कारण के होला ?

अपाङ्गता भएका मानिसहरुको जीवनस्तरमा वृद्धि गर्न विभिन्न संघसंस्थाहरुले काम गरिरहेका छन् । तर, समस्या डरलाग्दो छ । नेपाल सरकारले अपाङ्गता भएका मानिसहरुको जीवनस्तर बढाउन केबल भत्ता वितरणलाई प्राथमिकता दिदाँ आर्थिक स्तरमा वृद्धि हुनसकेको छैन् ।
अपाङ्गता भएका मानिसहरुको जीवनस्तर बढाउनको लागि रोजगार सृजना गर्न सरकारको भूमिका महत्वपूर्ण हुन्छ ।
७) सरकारले अपाङ्गता भएका मानिसहरुको लागि सामाजिक सुरक्षा भत्ता वितरण गरेपनि प्रभावकारी हुन सकेको छैन् ? किन ?

जनचेतना नभएर धेरैले सरकारले वितरण गरेको अपाङ्गता परिचयपत्र धेरैले लिएका छैनन् । नेपालमा अपाङ्गता भएका मानिसहरुमध्ये करिव ४५ प्रतिशतसँगमात्र अपाङ्गता परिचयपत्र छ । अपाङ्गता परिचयपत्रविना सरकारले दिने सुविधाहरु प्रयोग गर्न पाईदैन् ।

लाज र सामाजिक प्रतिष्ठाका कारण अपाङ्गता भएका मानिसहरुले आफ्नो परिचय सार्वजनिक गर्न चाहेका छैनन् । फेरि अपाङ्गता परिचयपत्र बनाउन सम्बन्धित मानिसहरुसम्म सचेतना नपुगेको हुनसक्छ । 

८) अपाङ्गता भएका मानिसहरुको अवस्था सुधार्नको लागि के–के कुरामा ध्यान दिनु जरुरी छ ?

अपाङ्गताको पनि विभिधता छ भन्ने कुरा बुझ्नु जरुरी छ । सबैले अपाङ्गता भएका मानिसपनि हामीजस्तै मानिस हो भन्ने कुरा स्वीकार्न सक्नुपर्छ । उनीहरुलाई अवसर दिनसक्नुपर्छ भन्नेमा केन्द्रित हुनसाथ धेरै समस्याहरु समाधान हुन्छ ।

अपाङ्गता भएका मानिसहरु रोल मोडलको रुपमा आउन सकेका छैनन् । अपाङ्गता र गरिवी एकअर्काका पर्यारवाचीजस्तो भएका छन् । यसले गर्दा अपाङ्गता भएका मानिसहरुको आर्थिक स्थिति अझपनि तल्लो स्तरमा रहेको छ । 

९) अपाङ्गता भएका मानिसहरुको जीवनस्तर बढाउन आफन्त र निकट साथीहरुको भूमिका कतिको महत्वपूर्ण हुन्छ ?

अपाङ्गता भएका मानिसहरु र सामान्य मानिसहरुबीच अझपनि दुरी छ । त्यो कुरामा कमी आउनुपर्छ । अझपनि अपाङ्गता भएका बालबालिकाहरु सामान्य स्कुलमा जाँदैनन् ।

उनीहरु अपाङ्गता भएका बालबालिकाहरुमात्र पढ्ने स्कुल जाने हुँदा साथीहरुपनि त्यस्तैमात्र हुने गरेका छन् । यसले गर्दा उनीहरुले समाजको अन्य कुराहरु बुझ्नबाट बञ्चित हुने गरेका छन् । र, समाजले पनि उनीहरुलाई बुझ्न र स्वीकार्य सकेको छैन् ।

त्यसैले अपाङ्गता भएका बालबालिकाहरुलाई समावेशी शिक्षा दिनको लागि पहल गरिरहेका छौं ।


Share