फेरी सरकार परिवर्तन?
अस्थिर रहेको संज्ञा पाएको नेपालको राजनीतिमा फेरि अर्को परिवर्तन भएको छ।
सोमबार राती नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार बनाउने सहमति भएको नेपाली काँग्रेसका एक नेताले एसबीएस नेपालीलाई बताएका हुन्।
नयाँ सरकारबारे धेरै बोल्न नचाहेका उक्त नेताले दुई ठुला राजनीतिक दलबिच बन्न लागेको सरकारले हाल देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने र अस्थिरताका कारक देखिएका संविधानका केही पक्षहरूलाई संशोधन गर्ने मुख्य उद्देश्य रहेको बताए।
विभिन्न समाचारमा आएका विवरणहरूका अनुसार दुवै दलले राष्ट्रिय सहमतिको सरकार बनाउन कोसिस गर्ने देखिएको छ।
हालको व्यवस्थाले कुनै पनि दलले बहुमत ल्याउन नसक्ने र यसलाई सम्बोधन गर्न नेपाली काँग्रेस र नेकपा एमाले मिल्न पर्ने अभिव्यक्ति नेपाली काँग्रेसका शीर्ष नेताहरूले केही समययता दिँदै आएका थिए।
नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट बाहिरिए पछि भने काँग्रेसले उक्त विषयलाई अझ बढी जोड दिँदै आएको थियो।
राजनीतिमा तरङ्ग
सोमवारको सहमति पुर्व नै राजनीतिक दलका शीर्ष नेताहरूबिच भेटघाट बाक्लिएको विषयले चर्चा पाएको थियो।
सत्तापक्षका दलहरूबिच हुने नियमित भेटघाट बाहेक अन्य बैठकहरू पनि भए।
यी मध्ये धेरै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा भएको बताइएको छ।
तर सत्ता बाहिर रहेको नेपाली काँग्रेस पनि राजनीतिक भेटघाटमा समावेश हुन थालेको छ।
जस मध्ये नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शनिवार बालकोटमा भएको भेटघाटलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ।
देउवा श्रीमती आरजु राणा देउवासँगै बालकोट पुगेका थिए।
यसैबिच नेकपा माओवादीले भने काँग्रेस र एमालेका शीर्ष नेता भेट्दैमा सत्ता गठबन्धनमा समस्या नआउने बताएको छ।
सोमवार सदनमा माओवादीको तर्फबाट विशेष समय लिएर बोलेका सांसद माधव सापकोटाले भने दुई दलका नेताहरू भेट्दैमा परिवर्तनै हुन्छ भन्ने भाष्य बनाउन नहुने बताए।
''सबै घटना क्रमहरूलाई जोडेर हेर्दा यसमा (सरकार परिवर्तन बारे) सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन,'' उनले भने।
रास्वपाले राजदूतका लागि मागेको आवेदनको आलोचना
सरकारले विभिन्न देशमा रहेका राजदूत फिर्ता बोलाएसँगै नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया पनि अघि सारेको छ।
यसमध्ये गत साता आठ जना राजदूत नियुक्तिको सिफारिसमा परेका थिए। उनीहरू सत्ता साझेदार नेकपा एमालेको कोटाबाट सिफारिसमा परेको बताइएको छ।
यस्तै गठबन्धन सरकारको प्रमुख घटक मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भागमा दुई जना राजदूत परको बताइएको छ।
यसका लागि रास्वपाले उक्त पदका लागि खुल्ला आह्वान गरेको थियो, जसमा २४० जनाको आवेदन परेको बताइएको छ।
उक्त सूचीबाट रास्वपाको अन्तर्राष्ट्रिय विभागले सात जनाको नाम छनोट गरेर पार्टी अध्यक्षलाई बुझाएको छ।
रास्वपाको उक्त कदमले सकारात्मक र नकारात्मक दुवै चर्चा पाएको छ।
नेपाली काँग्रेसका पूर्व परराष्ट्र मन्त्री एनपी साउदले सरकारले गर्ने गम्भीर विषयलाई एनजीओले मान्छे छनौट गर्न विज्ञापन गरेको जस्तो गरेको भन्दै आपत्ति जनाएका छन्।
''यसले कूटनीतिक मर्यादामा आँच पुगेको छ," आफ्नो धारणा राख्दै उनले भने।
प्यारालिम्पिक्समा नेपालबाट थप एक सहभागी
भीमबहादुर कुमालले फ्रान्समा हुन गइरहेको पेरिस प्यारालिम्पिक्स खेल्ने भएका छन्। उनी नेपालका लागि पौडीमा भाग लिने छन्। कुमाल पुरुष तर्फको ५० मिटरको 'फ्रिस्टाइल'मा सहभागी हुने छन्।
यससँगै अगस्टदेखि सेप्टेम्बरसम्म हुन लागेको उक्त प्यारालिम्पिक्स प्रतियोगितामा नेपालबाट तीनजना खेलाडीले खेल्ने निश्चित भएको छ।
यसअघि नै प्यारातेक्वान्दोबाट दुई खेलाडीले उक्त प्यारालिम्पिक्समा खेल्ने पक्का भइसकेको छ।
यो पनि पढ्नुहोस्
अस्ट्रेलियामा इतिहास रच्ने यी अद्भुत नेपाली महिलाहरू
एसईई नतिजा प्रकाशित
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा राष्ट्रिय परीक्षा बोर्डले बिहीवार सार्वजनिक गर्यो।
करिब ४८ प्रतिशत विद्यार्थीले कक्षा ११ पढ्नका लागि प्राप्त गर्नु पर्ने अङ्क ल्याउन सफल भएको बोर्डले जनाएको छ।
यस सालदेखि नयाँ नियम सुरु गरिएकोले पनि उत्तीर्ण हुने विद्यार्थीको दर घटेको अधिकारीहरूले बताएका छन्।
Nepali students check the Secondary Education Examination (SEE) seat plan inside an exam center in Kathmandu. Credit: UCG/UCG/Universal Images Group via G
''अघिल्लो वर्षहरूमा भन्दा हामीले केही परिवर्तन गर्यौँ र यस वर्ष हामीले गुणस्तरमा जोड दिएका थियौँ," उनले बताए।
नयाँ नियम अन्तर्गत सैद्धान्तिक तर्फ ३५ र प्रयोगात्मक तर्फ ४० प्रतिशत अङ्क ल्याउन पर्ने नयाँ व्यवस्था गरिएको छ।
एसईईको नतिजा प्रकाशित भएपछि सरकारको आलोचन भएको छ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले शिक्षाको गुणस्तर बढाउन तर्फ सरकार लाग्न नसकेको बताए।
त्यस कारण एसईई परीक्षामा विद्यार्थी अनुत्तीर्ण भएको भन्दा पनि सरकार फेल भएको उनले आरोप लगाए।
सरकारले गुणस्तरीयता वृद्धि गरेर धेरै विद्यार्थीलाई पास गर्न लाग्नुपर्ने भए पनि त्यतातिर नलागेको उनको भनाइ थियो।
यसैबिच सरकारले शिक्षा मन्त्रालयले सबै 'नन-ग्रेडेड' विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ।
बाउन्न प्रतिशत विद्यार्थी नन-ग्रेडेड भएपछि मन्त्रालयले उक्त निर्णय गरेको हो। यसअघि दुई विषयमा एन ग्रेड आएका विद्यार्थीहरूले मात्र मौका परीक्षा दिन पाउने व्यवस्था रहेको थियो।
संसद् दिवस
देशभर विभिन्न कार्यक्रम गरेर आइतवार संसद् दिवस मनाइएको छ ।
सङ्घीय संसद्ले पनि उक्त अवसरमा एक कार्यक्रम आयोजना गरेको थियो जसमा पूर्व सभामुखहरूको पनि उपस्थिति रह्यो।
कार्यक्रममा समसामयिक राजनीतिक विषय, संसद्सँग जोडिएका विभिन्न पाटाबारे छलफल भएको थियो।
यस्तै मध्ये एक पूर्व समाभूख दमननाथ ढुङ्गानाले समावेशिताको विषयमा चर्चा गरे। हालको संविधानको राम्रो पक्ष मध्ये एक समावेशिता भएको जिकिर गरे। तर प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई एकै ठाउँमा राख्दैमा सदन प्रभावकारी नहुने धारणा व्यक्त गरे।
''समावेशिता संविधानको सबैभन्दा राम्रो पक्ष हो। तर समावेशिता कहाँ राख्ने यसबारे सोच्नु भएको छ ?'' उनले बताए।
"प्रत्यक्ष निर्वाचित र समावेशै सांसद एकै ठाउँमा राख्न मिल्छ। त्यस्तो समावेशिता र प्रत्यक्ष निर्वाचित सांसद एकै ठाउँमा रहेको संसद् प्रभावकारी हुँदैन।''
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले सदनमा सांसदहरु निदाउने गरेको प्रति आपत्ति जाइन्।
नेपाली मदिराबारे चर्चा
सदनमा उठ्ने विभिन्न विषय मध्ये यस साता मदिरा पनि परेको छ। बुधवार नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले यस विषय उठाएकी हुन्।
तीनपाने भनिने कोदो र चामल लगायतबाट बनाइने रक्सीलाई विदेश निर्यात गर्ने प्रस्ताव राखिन्।
यसले देशको अर्थतन्त्रमा पनि सकारात्मक असर पार्नुका साथै आदिवासी जनजातिको जीवनस्तर माथि उठ्ने उनको ठम्याइ रह्यो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।