नेपालका विभिन्न क्षेत्रबाट आएका २० जना महिलाहरू मध्ये कतिपय पर्यटन व्यवसायमा संलग्न छन् भने कतिपय विद्यार्थी छन्।
तालिम कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीहरूले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, टौदह र रानीबारी सामुदायिक वनमा भ्रमण गरेर नेपालमा रहेका चराहरू, तिनका वासस्थान र संरक्षणका विविध पक्षहरूबारे र चरा पर्यटन र प्रकृति पथ प्रदर्शन सीप सम्बन्धी जानकारी गराइएको थियो ।
पनौतीकी उर्मिला रञ्जितकारले नजिकका ९ जना महिलाहरूको समूहमा मिलेर एउटा होमस्टे खोलेकी छिन्।
नेपालका चराहरूका बारेमा जानकारी पाउँदा पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने आफूले आशा राखेको उनले एसबीएस नेपालीलाई बताइन्।
रञ्जितकार भन्छिन् कि तालिम अघि यसबारे खासै थाहा थिएन।
"देखिराखेको मैना पनि, कमन मैना र जङ्गली मैना पनि छुट्टाउन गाह्रो थियो। तालिममा गएपछि हामीले केही चराहरू चिन्न सिक्यौं।"
आफूले सिकेका कुराहरू होमस्टेका अरू महिलालाई पनि सिकाएर प्रकृति पर्यटन प्रवर्द्धनमा कोसिस गर्ने मनशाय व्यक्त गर्दै भनिन्,"हामीले होमस्टेमा पर्यटकहरूलाई सांस्कृतिक नाच गान, धार्मिक उत्सवका बारेमा जानकारी दिन्थ्यौँ, तर उनीहरू चरासँग पनि रमाउन सक्छन् भन्ने थाहै थिएन। अब चाहिँ पर्यटकहरूलाई चरा पर्यटन पनि गराउने भन्ने बारेमा होमस्टे समूहमा कुरा राखेकी छु।"
नेपालमा क्षेत्रफलको अनुपातमा चराको विविधता निकै उच्च रहेको छ।
नेपालमा हालसम्म ८८६ प्रजातिका चरा पाइने कुरा अभिलेख गरिएको छ भने नयाँ नयाँ चरा भेटिने क्रम पनि जारी छ।
Source: Roshan Dadhe/Pexels
कुराकानी सुन्नुहोस्: नेपालमा चरा बचाउन अस्ट्रेलियाले कसरी सहयोग गरिरहेको छ त? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
देशभर रहेका विभिन्न किसिमका सुन्दर र दुर्लभ चराले पर्यटक आकर्षित गर्ने सकिने बर्ड कन्जर्भेसन नेपालका मोहन विक्रम श्रेष्ठ बताउँछन्।
"सङ्कटापन्न अवस्थामा रहेका चराहरू, जस्तै सिमसारमा पाइने, खेतमा पाइने एकदमै राम्रा चराहरू नेपालमा छन्। जस्तै, राज धनेश, डाँफे, मुनाल, सारस, र विश्वमै सङ्कटापन्न अवस्थामा रहेका ९ प्रजातिका गिद्धहरू नेपालमा छन्। काँडे भ्याकुर त नेपालमा मात्रै पाइन्छ।"
भौगोलिक विविधताका कारण नेपालका विशेष ठाउँमा विशेष चरा पाइने र कतिपय त्यस्ता चरा अन्त नपाइने पनि श्रेष्ठले बताएका छन्।
पूर्वमा पाइने चरा पश्चिममा नपाइने र पश्चिममा पाइने चरा पूर्वमा नपाइने पनि छन् भने हिमाल, पहाड र तराई पनि आ-आफ्नै विशेष चराहरू पाइन्छन्।
"तराईमा विभिन्न प्रजातिका मनमोहक क्रेन पाइन्छन्। पहाडमा साना साना चरा, सुनचरी, रानीचरी, अर्जुनक चराहरू पाइन्छन् भने हिमालमा डाँफे मुनाल जस्ता राम्रा चरा पाइन्छन्। चीर कालिज काली गण्डकीको पश्चिममा मात्र पाइन्छ भने सेतो घाँटी भएको टिट रारा वरिपरि मात्र पाइन्छ, र पहेँलो घाँटी भएको टिट माई पोखरी वरिपरि मात्र पाइन्छ। खर मुजुर हेर्न जानु पर्यो भने कोसी वा शुक्लाफाँटामा मात्र पाइन्छ।"
कोभिड महामारीपछि नेपालको पर्यटनको स्थिति निकै खस्केको छ।
तर पर्यटन व्यवसायलाई फेरी सक्रिय गराउने क्रममा भने चरा पर्यटनको राम्रो भूमिका हुन सक्छ।बर्ड कन्जर्भेसन नेपालका अर्का अघिकारी नीरज दाहाल भन्छन् कि चरा हेर्न आउने पर्यटक हाई एण्ड अर्थात् उच्च तहका हुन्छन्।
Source: Leah Kelley/Pexels
“उनीहरू एउटा चरा हेर्न महिनौँ बिताइदिन सक्छन्, उनीहरूका उपकरणहरू पनि महँगा हुन् सक्छन्, र उनीहरूले नेपालको पर्यटन क्षेत्रमा निकै योगदान दिन सक्छन्। त्यसैले चरा पर्यटनलाई प्रवर्द्धन गर्नु नेपालका लागि फाइदाजनक हुन्छ।"
नेपालको पर्यटन क्षेत्रमा गाइडको रूपमा काम गर्ने महिलाको सङ्ख्या कम नै रहेको अवस्थामा चरा पर्यटनबाट आय आर्जन हुने सम्भावना भएकाले यस तालिमका लागि महिलाहरूलाई लक्षित गरेको पनि दाहालले बताएका छन्।
नयाँ चरा गाइडहरूलाई तालिम समापन कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क कोभिड-१९ महामारी पछि अन्तर्राष्ट्रिय यात्रा खुला हुने र नेपालमा पर्यटकहरू आउनेमा आसा राख्छिन्।उनी भन्छिन् कि यसले नेपालको पर्यटन क्षेत्र फेरी माथि लाग्नेछ।
Source: PNW Production/Pexels
"नेपाल फेरी पर्यटकहरूको सूचिमा प्राथमिकतामा पर्नेछ। त्यस बखत तपाईँहरूले नेपालका रैथाने र आगन्तुक चराहरूलाई पर्यटकहरूको लागि आकर्षणको रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।"
महिलाहरूलाई प्रकृति पथ प्रदर्शकको तालीम प्रदान गरेर शहरी क्षेत्र भित्रका वन्यजन्तुका प्राकृतिक वासस्थान र जङ्गलहरूमा रहेका जैविक विविधताको संरक्षणमा महिला र पुरुष सबैको सहभागिताको महत्त्वलाई अझ बढाउने पनि राजदूत भोल्कको भनाइ छ।