तपाईँको मन मगन गीतले भर्खरै हिट्स एफएम मा सर्वोत्कृष्ट गीतको अवार्ड जितेको छ र नेपाली संस्कृति झल्काएका कारण पनि चर्चामा आएको छ। यो गीतको पृष्ठभूमि र तपाईँको प्रेरणाको बारेमा केही बताइदिनुस् न।
मन मगन एक दिनको होमवर्क चाहिँ होइन। हामीले सन् २०११ मा आफ्नो विधामा केही परिवर्तन गरेका थियौँ। 'मेड्ले' भन्ने प्रोजेक्ट अन्तर्गत पुराना पुराना गीतहरूलाई नेपाली बाजाहरू राखेर र लाखे, झाँक्री जस्ता नेपाली संस्कृतिका पात्रहरू राखेर नेपालीपन दिने कोसिस गरेका थियौँ। मन मगन पनि त्यसै गरी रेकर्ड गरेको थिएँ। भिडियोको कन्सेप्टमा चाहिँ छोरी चेरिशाले मलाई सल्लाह दिइन। "अहिले कानलाई मात्रै सोचेर हुँदैन, आँखालाई पनि सोच्नुपर्छ। मैले यो गीतमा कुनै जात्रा-पर्वको कल्पना गरिरहेकी छु" भनेर भनेकी थिइन। त्यही कन्सेप्टमा अगाडि बढेर भिडियोमा फोकस गरेर हामीले कलर फुल भिडियो बनाउने प्रयास गर्यौँ। काठमान्डुको संस्कृति, पहाडको र तराईको छलिया नाच समेतलाई मिलाएर देखाउने कोसिस गर्यौँ।
तपाईंले रक सङ्गीतबाट नेपाली सङ्गीतमा प्रवेश गर्नुभएको थियो। लोक शैली तर्फ कसरी अघि बढ्नुभयो?
मैले रक भन्दा पनि स्पेनिस र ल्याटिन शैलीको गीतहरू गर्थेँ। त्यही क्रममा अमेरिकाको टेक्ससमा होला, एउटा नेपाली कन्सर्ट भएको थियो। कति विदेशीहरू पनि नेपाली सङ्गीत सुन्न आएका थिए। तर हामीले त गितार र ड्रम बजायौँ। पछि ब्याक स्टेज आएर उनीहरूले सोधेँ "यो कसरी नेपाली सङ्गीत भयो? भाषा मात्रै नेपाली भयो तर बाजा त पश्चिमा नै छन्? तिमीहरूको आफ्नो बाजा छैन?" त्यो सामान्य प्रश्नले मलाई छोयो भनूँ न। तर त्यो प्रश्नको उत्तर भेटाउन झन्डै १० वर्ष लाग्यो। म काठमान्डुमा हुर्केको। सधैँ बाजाहरू देख्थेँ वरिपरि। जन्मेदेखि मरेसम्म हरेक समयमा बाजाहरू त बजाइन्छ नै। तर त्यसलाई चाहिँ हामीले साङ्गीतिक हिसाबले हेरेनौँ भनूँ न। थाहा नपाएको।
Source: Supplied
तपाईँ आफ्नो सङ्गीत तिर फर्किनुभयो तर पश्चिमा सङ्गीतको प्रभाव त अझै बढिरहेको छ र त्यसको प्रभावका अगाडि हाम्रो आफ्नो सङ्गीत त मारमा नै परेको छ। के हाम्रो मौलिक सङ्गीत बाँच्न सक्छ?
कम्तीमा सुरु भएको छ । हामीले सुरु गर्ने बेलामा नेपाली बाजाहरू बजाउने चलन थिएन। अहिले भने हरेक ब्यान्डमा नेपालीपन राख्नुपर्छ भन्ने ट्रेन्ड आएको छ। सारङ्गी र टुङ्गा धेरैले राख्छन्, रक ब्यान्डहरूले पनि लाखेहरू राखिरहेका छन्। जे होस् यो हाम्रो हो भनेर केही न केही आफ्नो पहिचान देखाउने कुराहरू राख्न थालेको पाइन्छ। यसले नकारात्मक रूपमा कुनै विकृति चाहिँ नल्याइदेओस् जस्तो लाग्छ। हामीले चाहिँ कम्तीमा आफूले देखेको बुझेको कुराहरू सल्लाह गरेर राख्छौँ। कसैले थाहै नभएको संस्कृतिलाई गलत तरिकाले देखायो भने विकृति आउन सक्छ भन्ने डर पनि छ।
Source: Supplied
हामीले भर्खरै साउथ एसियन गेम्समा पनि गर्नु थियो। त्यसले मलाई झन् जिम्मेवार बनायो। जथाभाबी देखाउनु भन्दा यसलाई सही तरिकाले देखाउनु पर्छ भनेर हामी सुदूर पश्चिमको छलिया, काठमान्डुको पुलुकिसि र कुमारी साँच्चीकै कसरी देखाइन्छ भनेर खोज्न गयौँ। हामी काठमान्डुको गुठीहरूमा गयौँ र त्यहाँका अग्रजहरूलाई नै गुहार्यौं र वहाँहरूले हामीलाई देखाइदिनुभयो।
थोरै तपाईँको सृजनाको प्रक्रियाको पनि कुरा गरौँ। एउटा गीत सृजना गर्ने तपाईँको प्रक्रिया कस्तो हुन्छ?
पहिला त म एक्लै थिएँ। अहिले भने समूह छौँ। कुनै पनि सृजनाको लागि एउटा माहौल चाहिन्छ। मैले सङ्गीत सृजना गर्छु। एउटा धुन भएपछि हाम्रो ड्रमरले शब्द लेख्छन्। भर्खरै गाएको मन मगन र अल्लारे र अरू केही गीत भने धेरै पुराना हुन्। लोक शैलीको हुनाले मैले गाउन सुहाउँदैन भनेर थन्क्याइराखेको। अर्काइभबाट निकालेर तिनीहरूलाई पुनर्जीवित गर्यौँ र नयाँ तरिकाले रेकर्डिङ गर्यौँ।
Source: Supplied
नेपाली बाजाहरू खोज्ने र बजाउने क्रममा कस्तो कस्तो बाजाहरू बजाइराख्नु भएको छ?
अहिले भन्दा पनि सुरुवातमा मैले 'मेड्ले' भन्नेमा एकैपल्ट थुप्रै बाजाहरू प्रयोग गरेको थिएँ। नेवार समुदायका धा, धिमे, दमोखिं, न्याखिं, भुस्या, तिन्छु, छुस्या, नगाडाहरू प्रयोग गरेका थियौँ। तामाङ र शेर्पा समुदायको पनि कोसिस गरेका थियौँ। अझ हामी सिक्दैछौं। केही सर्वेक्षण पनि गर्न थालेका छौँ – पिपलको पात कसरी बजाइन्छ? पूर्वमा र पश्चिममा कस्ता कस्ता बाजा चल्छन्? बाजा चलाउनु ठुलो कुरा होइन तर नबिगारी चलाउनु ठुलो कुरा हो जस्तो लाग्यो हामीलाई। हजारौँ वर्षको इतिहास बोकेका बाजाहरू छन्। हामीले एउटा गल्ती गर्यौँ भने पनि त्यसको परिणाम नराम्रो हुन्छ।
Source: Supplied
यो बाजाहरूको परम्परागत रूपमा चाहिँ अवस्थामा चाहिँ अवस्था कस्तो छ?
काठमान्डुको धिमे बाजा भनेको पूजा, जात्रा, भजनमा मात्रै बजाइन्थ्यो। आजकाल धेरै ब्यान्डले प्रयोग गर्छन्। सारङ्गी र बाँसुरी पप गीतमा बजाइन थालेको छ। बाजाले चाहिँ सबै ठाउँमा प्राथमिकता पाएका छन्। त्यो भन्दा पनि मौलिक र जातीय बाजाले भने अझै पनि राम्रो स्थान पाएका छैनन्। हाम्रै समुदायमा १० वर्षमा एकपल्ट मात्रै निकाल्न पाइने बाजा पनि छन्। कसरी त्यसलाई जोगाउन सकिन्छ? कम से कम त्यसको एउटा प्रतिकृति भए पनि हामीले बाहिर देखाइराख्नुपर्छ जस्तो लाग्छ मलाई, हामीसँग यस्तो चीज पनि छ है भनेर।
तपाईँको भविष्यका योजनाहरू के के छन्? अहिले के मा काम गर्दै हुनुहुन्छ?
सङ्गीतमै लागिरहने मेरो उद्देश्य हो। मैले मनोरञ्जन पनि दिइरहेको छु र नेपाली संस्कृतिलाई अलिकति भए पनि बाहिर देखाउन सकिरहेको छु जस्तो लाग्छ। यस्तै कामहरूलाई निरन्तरता दिन सकौँ जस्तो लाग्छ।
Source: Supplied